तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आजदेखि एन्फा क्याट ४ रेफ्री कोर्ष शुरु

चितवन । चितवनमा एन्फा क्याट ४ रेफ्री कोर्ष शुरु भएको छ । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आज (सोमबार) बाट रेफ्री कोर्ष सुरु भएको छ ।

कोर्षको आज एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी उद्घाटन गर्नुभयो  । जेठ १३ गतेसम्म चल्ने कोर्षलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङले प्रायोजन गरेको छ ।

रेफ्री कोर्षमा चितवन, धादिङ र धनगढीका महिला पुरुष गरी ३२ प्रशिक्षार्थी रेफ्रीहरु सहभागी रहेका छन् । उनीहरुलाई पूर्व फिफा रेफ्री वीरेन्द्रबहादुर पाण्डे, कल्पना शर्मा, सचिन अमात्य र रोजेन श्रेष्ठले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण गराउनेछन् । कोर्षपछि उत्तीर्ण हुने रेफ्रीहरुलाई ब्याच प्रदान गरिनेछ ।

दक्ष रेफ्री उत्पादन गर्ने लक्ष्यसहित कोर्ष सुरु गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए । उनले सहभागीहरूलाई कुशल रेफ्री बन्ने विषयमा केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख अधिकारीले रेफ्री सम्मानित पेशा भएको भन्दै थप मर्यादित बनाउने लक्ष्यसहित अघि बढ्न आग्रह गर्नुभयो  । उहाँले फिफा रेफ्री बन्ने लक्ष्य बोकेर मेहेनत गर्न समेत आग्रह गर्नुभयो  ।

अखिल नेपाल फुटबल संघका प्रमुख प्रशासक तथा हेड अफ रेफ्री डिपार्ट गोकुल थापाले प्रशिक्षणका दौरान नियम सिकेर व्यवहारमा उतार्न सुझाव दिनुभयो  । उहाँले यसलाई रेफ्रीमा भविष्य देख्नेहरूको सुरुवाती विन्दुको रुपमा बुझ्न आग्रह गर्नुभयो  । सन २०२५ बाट पदोन्नति पनि हुने भन्दै मेहेनत गर्न आग्रह गर्नुभयो ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) ले रेफ्री पेसालाई थप व्यावसायिक बनाउन आवश्यक रहेको बताउनु भयो  । उहाँले यो पेसालाई व्यवस्थित गर्न नसक्दा रेफ्रीहरुले अझै पनि अनेकौँ समस्या झेल्नुपर्ने अवस्था रहेको बताउनु भयो  । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो  ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button