तपाईँ सुन्दै हुनुहुन्छः

२ दिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्पन्न

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सम्पन्न गरेको छ । वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।

विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाको सान्दर्भिकता विषयक गोष्ठीमा विभिन्न देशका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुभएको र त्यसमाथि छलफल भएको बौद्ध अध्ययन संकायका डीन डा.माणिकरत्न शाक्यले जानकारी दिनुभयो ।

अहिले विश्वभरका मानिसहरू वातावरणीय संकट, ग्लोबल वार्मिङ, पारिस्थितिक असन्तुलन र शारीरिक तथा मनोवैज्ञानिक रोगजस्ता विभिन्न प्रकारका समस्याहरूबाट गुज्रिरहेको अवस्थामा बुद्धको जन्मस्थलबाट विशेष गरी बुद्ध शिक्षाको सान्दर्भिकता खोज्नुपर्ने आवश्यकता देखिएकाले गोष्ठीको निष्कर्ष रहेको डीन शाक्यले बताउनुभयो ।

बुद्ध जन्मस्थलमा आयोजित गोष्ठीमा नेपालसहित श्रीलङ्का, थाइल्याण्ड, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, पोर्चुगल, फ्रान्स लगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा बौद्ध शिक्षाको महत्व, लुम्बिनी सहितका बौद्ध स्थलहरूको संरक्षण र विकास तथा बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सम्बन्धमा छलफल र बहस भएको थियो । गोष्ठीमा बौद्ध दर्शन र योगका विषयमा प्यानल छलफल समेत भएको थियो ।

गोष्ठीमा समकालीन विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षाका कुन रूपहरू आवश्यक छन्, यस्तो शिक्षा फैलाउन लुम्बिनी बौद्ध विश्वविद्यालयले कसरी योगदान गर्छन् र संसारभरका मानिसहरूले कस्ता प्रकारका पाठ्यक्रमहरू अपेक्षा गर्छन् भन्ने विषयमा छलफल भएको थियो । गोष्ठीमा वर्तमान विश्वव्यापी परिप्रेक्ष्यमा महत्वपूर्ण लागू हुने आवश्यक बौद्ध शिक्षा पाठ्यक्रमहरूको पहिचान गरि लागू गर्नुपर्ने वक्ताहरूले बताएका थिए ।

गोष्ठीले बौद्ध शिक्षाको महत्वमा केन्द्रित भएर लुम्बिनी बौद्ध विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक कार्यक्रमहरूको बारेमा जानकारी दिन र मानवले सामना गरिरहेका जटिल समस्याहरूलाई सम्बोधन गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button