तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी कङ्गोमा विस्थापितहरूको शिविरमा विस्फोट हुँदा नौको मृत्यु

गोमा।  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार एम२३ (मार्च २३ आन्दोलन) विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितहरूको झुपडीहरूमा ‘बम’ खसेको थियो ।

आठ वर्षको निष्क्रियतापछि अधिकांश तुत्सी एम२३ विद्रोहीहरूले सन् २०२१ को अन्त्यमा पुनः हतियार उठाएका छन् । उनीहरूले यसको प्रान्तीय राजधानी गोमाबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा उत्तर किभु प्रान्तको ठूलो हिस्सालाई कब्जामा लिएका छन् ।

शुक्रबारको विस्फोटहरूको उत्पत्ति स्पष्टरूपमा स्थापित भएको छैन तर सरकारका प्रवक्ता प्याट्रिक मुयायाले सामाजिक सञ्जाल एक्समा ‘रुवान्डा सेना र उसको एम२३ आतङ्कवादी समर्थकहरू’ विस्फोटका लागि जिम्मेबार रहेको आरोप लगाउनुभयो ।

किन्सासा, संयुक्त राष्ट्र सङ्घ र पश्चिमी मुलुकहरूका अनुसार छिमेकी रुवान्डाले एम२३ लाई समर्थन गरिरहेको छ तर यसलाई किगालीले अस्वीकार गरेको छ ।

गोमाको पश्चिममा ल्याक भर्ट छिमेकका प्रमुख डेडेसी मितिमाले भन्नुभयो, “धेरै बालबालिकासहित मैले मेरै अगाडि नौ वटा शव देखेँ ।” अर्का अधिकारीले मर्नेहरूको अस्थायी सङ्ख्या १० भएको बताए ।

राजधानीबाट करिब २० किलोमिटर टाढा गोमाबाट जाने रणनीतिक सहर सोकसम्म जाने सडकको दुवैतिर झुपडीहरू थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ को अन्त्यमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा करिब ७० लाख मानिस विस्थापित भएको र यसमा उत्तरी किभुबाट मात्रै २५ लाख मानिस रहेको अनुमान गरेको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button