तपाईँ सुन्दै हुनुहुन्छः

एउटै बँदेलको टोकाइबाट सात घाइते

दैलेख । रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज भैरवी गाउँपालिका–६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ । 

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका(६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो ।  

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते हुनुभएको छ । 

घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ । 

घाइतेमध्ये गणेश सलामी सख्त घाइते हुनुभएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडाध्यक्ष हमालले बताउनुभयो । गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औँला टोकेर घाइते हुनुभएको थियाे । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button