तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुराको मार्कु बस्तीमा भीषण आगलागी

डडेल्धुरा । भित्रिमधेस क्षेत्रको परशुराम नगरपालिका–३ मार्कु बस्तीमा मङ्गलवार दिउसोदेखि भीषण आगलागी भएको छ ।

स्थानीय वन क्षेत्रमा डढेलो लागेको र वनमा लागेको आगो उडेर बस्तीमा पुग्दा आगलागी भएको हो । कुल २७ परिवारको बसोबास रहेको मार्कु बस्तीमा अधिकांशका घर गोठमा क्षति पुगेको स्थानीय अगुवा रामसिँह थलालले जानकारी दिएका छन् । आगलागी भएको जङ्गलबाट एक्कासी हावाहुरीले आगो उडाएर बस्तीमा आगलागी भएको उनले बताउनुभयो । 

आगलागीबाट स्थानीयका पाँच घर र गोठमा क्षति पुगेको छ । पराल, गाज्यौ र गोठेमलको थुप्रोमा आगलागी भएपछि घर र गोठमा पनि आगो सल्किएको हो । आगलागी हुने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँसम्म सडक सुविधा भए पनि दमकल नआएको र प्रहरीले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक गगनसिंह भाटले स्थानीयले तत्काल खबर गरे पनि विकट बस्तीसम्म दमकल जान नसकेको र तत्कालै प्रहरी चौकी परिगाउँबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिनुभएको छ ।

बस्तीमा आगलागी भएपछि छिमेकी बस्तीहरू तोडिन्ना, लोपा, शीर्ष, बुङा, गगरखेत लगायतबाट सर्वसाधारण पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । अझै आगो नियन्त्रणमा नआएको र गाँउमा खानेपानीको समस्या रहेकाले आगलागी नियन्त्रण गर्न कठिनाइ भइरहेको परशुराम नगरपालिका–३ का वडाध्यक्ष नरेशबहादुर खवासले बताउनु भएको छ  ।

बेलुकी अबेरसम्म स्थानीयले आगलागी नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । गाँउमा खानेपानी अभावका कारण माटो र स्याउलाको सहायताले आगो नियन्त्रण गर्ने प्रयास जारी छ । हावा हुरी चलिरहेकाले आगो उडेर बस्तीका घर गोठमा आगलागी हुन थालेकाले पुरै बस्ती जोखिममा रहेको स्थानीय नरेशदत्त भट्टले बताउनुभयो । बेलुकी अबेरसम्म पुग्दा घर गोठमा क्षति नपुग्ने गरेर आगलागी नियन्त्रण उन्मुख रहेको उद्धारमा संलग्न स्थानीय बताउँछन् । 

तर, गोठेमलको थुप्रोमा लागेको आगो निभाउन समस्या भइरहेकाले राती बस्तीमा थप आगलागी हुनसक्ने सन्त्रास कायमै रहेको वडाध्यक्ष खवासले बताउनु भयो । पछिल्लो समय मानवीय असावधानीका कारण जिल्लाका अधिकांश वन क्षेत्रमा भीषण आगलागी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button