तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको होटलमा झुण्डिएको अवस्थामा महिला तथा पुरुषको शव फेला 

जनकपुरधाम । जनकपुरधामको एक होटेलमा झुण्डेको अवस्थामा पुरुष र महिला शव आज फेला परेको छ । 

रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महोत्तरीको पिपरा गाउँपालिका वडा नंं ३ का वर्ष ३१ को हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नंं ४ खुट्टाकी अन्दाजी वर्ष २५ की प्रियङ्का कापर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबै जना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनु भएको छ । 

होटेल सञ्चालकका अनुसार कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइ रहेको आवाज सुनेपछि के भयो भनेर ढोका खोल्नका लागि आग्रह गर्दा कोटाबाट कुनै प्रतिक्रिया नआएपछि झ्यालबाट हेर्दा दुबै जना झुण्डेका अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोली घटनास्थल पुगेर कोठाको ढोकालाई फोडेर बालिकालाई बाहिर निकालेको छ । बालिका महिलाकी छोरी रहेकी छिन् । मृतक महिलाको माइत पिपरा रहेको छ । दुवैजना विगत चार दिनदेखि होटेलमा बसेका थिए । पुरुषको चार र महिलाको १ सन्तान रहेका छन् । 

अनैतिक सम्बन्धको कारणले यस्तो घटना घटेको हुन सक्ने आशङ्का गरिएको छ । एउटै गाउँका भएकाले दुवैका बीचमा रहेको गहिरो प्रेम सम्बन्धलाई वास्तविक सम्बन्धमा रूपान्तरण गर्न नसकेपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button