तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : सिरहाको सलहेश क्लब सेमिफाइनलमा

भोजपुर । भोजपुरमा सुरु भएको सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको तेस्रो खेलमा डाँगीहाट युथ क्लब मोरङलाई पराजित गर्दे सलहेश युवा क्लब सिराहाले सेमिफाइनलको यात्रा तय गरेको छ ।

डाँगीहाट युथ क्लब मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लब सिराहाले सेमिफाइनलको यात्रा तय गरेको हो । भोजपुर नगरपालिका वडा नम्बर सात, कोदार रङ्गशालामा सञ्चालन भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्बर १० का स्टेफेन बिलोङले खेलको २६ औ र ७५ औ मिनेट दुई गोल गरेका थिए भने जर्सी नम्बर ७ का फोडे फोफनाले ५१ औ मिनेटमा एक गोल र अर्का खेलाडी जर्सी नम्बर ११ का आदित्य शाक्यले खेलको ८६ औ मिनेटमा थप गोल गरेका थिए । प्रयास गर्दागर्दै पनि मोरङको तर्फबाट कुनै पनि गोल हुन सकेन ।

प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका जर्सी नम्बर १० का खेलाडी स्टेफेन बिनोङ भएका छन् । उनले नगद पाँच हजारका साथमा मेडल पाएका छन् ।

प्रतियोगिता अन्तर्गतको आइतबारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनल प्रवेश गरेको छ भने सोमवारको दोस्रो खेलमा राजारानी फुटबल क्लबलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लब सहित जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

बुधवारको अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल संघ र चर्च व्बाइज युनाइटेड काठमाडौँबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

फाइनल खेल आगामी वैशाख १५ गते हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button