तपाईँ सुन्दै हुनुहुन्छः

देशमै पढ्ने रहर जाग्दा ८१ वर्षमा कक्षा १ मा भर्ना

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ स्थित वीर बलभद्र मावि कोटेलीमा ८१ वर्षीय बहादुरसिंह साउद कक्षा १ मा भर्ना हुनुभएको छ ।

२०८१ सालमा ८१ वर्षीय साउद कक्षा १ मा भर्ना हुनुभएको विषयले व्यापक चर्चा पाइरहेको छ । हिन्दी र अङ्ग्रेजी बोल्न र लेख्न जान्ने साउदलाई आफ्नै देशमा पढेर नेपाली बोल्न र लेख्न सिक्नु छ ।

सानैमा नवदुर्गा १ को निनतोला छोडेर मुगलान पस्नुभएका साउदले लामो समय गोर्खा सैनिकमा काम गर्नुभयो । ‘आफूलाई नेपाली हुनुमा गर्व रहेको तर बोल्न नजान्ने भएपछि नेपालीपन अपुरो भएको महसुस भयो र गाउँकै स्कुलमा नातिनातिना उमेरका केटाकेटीहरूसँग पढ्ने योजना बनाएँ ।’ उहाँले भन्नुभयो ।

वीर बलभद्र माविका सहायक प्रधानाध्यापक टेकराज ओझाका अनुसार साउद सबैको प्रेरणाका स्रोत हुनुहुन्छ । ‘एउटा विद्यार्थी मात्र भर्ना गरेका छैनौँ कि एउटा असल गुरु भर्ना गरेका छौँ ।’ ओझाले भन्नुभयो ।

वीर बलभद्र माविका व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका नवदुर्गा गाउँपालिका–१ का अध्यक्ष शेरसिंह साउँदले लामो समय गोर्खा सैनिकमा कार्यरत बहादुर जस्ता ज्येष्ठ नागरिक समाज र देशकै लागि प्रेरणाका स्रोत भएको बताउनुभयो । ‘बहादुरसँग कुरा गर्नुपर्‍यो भने दोभासे चाहिन्छ । दोभासेको भरोसामा कुराको आदानप्रदान हुन्छ । उहाँ नेपाली सिकेर बाँकी जीवन नेपालमै केही गर्ने योजनामा हुनुहुन्छ ।’

नातिनातिना उमेरका बालबालिकासँग पढ्ने विषयमा बहादुरको सकारात्मक प्रतिक्रिया छ । ‘सिकाई उमेरमा भर पर्दैन । केही कुरा म उनीहरूबाट सिक्छु र केही कुरा सिकाउन सक्छु ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button