तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय आमन्त्रित भोजपुर गोल्डकप भोलि सुरु हुने

भोजपुर । ४९ लाख बढीको लागतमा वैशाख नौ गतेबाट सुरु हुने भोजपुरको प्रतिष्ठित सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिताको तयारी पुरा भएको छ ।

भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको र खेलाडीहरू समेत जिल्ला आउने क्रम जारी रहेको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगिता जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको हो । प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगितामा यस बर्ष भारतको एक सहित नेपालका दुई वटा ए डिभिजन क्लबले पनि भाग लिने छन् । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन्

आइतबारको पहिलो खेल भारतको जर्जियन फुटबल क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको खेल तालिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button