तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जामा १ वर्षमा १ हजार ४९२ हेक्टर जङ्गलमा डढेलो

स्याङ्जा । स्याङ्जामा एक वर्ष १ हजार ४९२ हेक्टर जङ्गलमा डढेलोले क्षति गरेको छ । 

गत वैशाखदेखि अहिलेसम्म जिल्लाका विभिन्न सामुदायिक, राष्ट्रिय र निजी वनमा गरी १ हजार ४९२.२ हेक्टर वनमा डढेलोले क्षति गरेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ । 

डढेलोले जिल्लाभित्रका राष्ट्रिय तथा सामुदायिक वनहरूमा क्षति गरेको छ भने केही निजी खरबारीमा समेत डढेलो लागेको छ । सबैभन्दा धेरै गल्याङमा ५८४ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । 

पुतली बजारमा २०५ हेक्टर वनमा डढेलो लागेको छ । त्यस्तै आँधी खोलामा १३९ हेक्टर वनमा डढेलोले क्षति गरेको छ । त्यस्तै फेदी खोलामा १०४ हेक्टर वनमा डढेलो लागेको छ भने सबभन्दा कम बिरुवा गाउँपालिकामा २.२ हेक्टर वनमा आगलागी भएको छ । 

डिभिजन वन कार्यालयका अनुसार अर्जुनचौपारीमा ४७ हेक्टर वनमा डढेलो लागेको छ । पुतली बजारको आहाले मस्वारा, भुजुङ्गे, बस्यहारी, ठाडो खोला रातो माटो, पातलखर्सु, बाघको खोर, फुर्केघारी खुरखरेडाँडा, महभिर, बसन्ते, देउराली डाँडा, गाटीखेल्नी, सिङ्रिङ लेक, नकरेडाँडा, मोलाथाम, पातलर्खक, भालुपहाड रातोमाटा, दुम्सीभञ्ज्याङ अंधेरीपातल, बाँयाखोला, चन्द्रकोट मौरीपाखा सामुदायिक बन लगायतमा डढेलो लागेको छ ।

त्यस्तै भीरकोटमा ५ वटा सामुदायिक वनमा ८० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । चापाकोटको ८ वटा सामुदायिक वनमा ११ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने गल्याङका ११ वटा वनहरूमा आगलागी हुँदा  ५८४ हेक्टरमा क्षेत्रफल बनमा आगलागी भएको छ । त्यस्तै कालीगण्डकीमा ५ वटा सामुदायिक वनमा आगलागी हुँदा ७७ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने वालिङको ५ वटा वनका २४३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन बन कार्यालय स्याङ्जाले जनाएको छ । 

डिभिजन बन प्रमुख नवराज बरालले डढेलोबाट दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । डढेलोबाट एक जना घाइते भएका छन् । यस्तै तीन गोठ जल्दा १९ बाख्रा, एक भैँसी मरेको प्रमुख बरालले बताउनुभयो । 

आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई डढेलो नियन्त्रणका लागि विभिन्न सामाग्री प्रदान गरिएको प्रमुख बरालले बताउनुभयो । 

डढेलो नियन्त्रणका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा विभिन्न सचेतनामूलक अडियो, भिडियो तथा सचेतनामूलक सूचनाहरू प्रसारण तथा प्रकाशन गरिएको वन कार्यालय स्याङ्जाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button