तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय स्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीय स्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले दशरथ रङ्गशालामा आयोजित १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उद्घाटन गर्दै गाउँ–गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । देशको खेलकुदको मुख्य आधारका रुपमा प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उहाँको भनाइ थियो ।

उहाँले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भएकाले यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत पर्दछ भन्नुभयो । “मेरो विचारमा खेलकुद र यस्ता प्रतियोगितात्मक क्रियाकलाप यसैतर्फका उन्नत सिकाइ विधि हुन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार हो भन्दै उहाँले विद्यार्थीहरू खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरू भविष्यमा जीवनयापनका लागि सक्षम भई मुलुकको प्रगतिमा पनि सहयोग गर्न सबल हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले खेलकुदमै लागेर मेरो भविष्य बन्छ भन्ने वातावरण सुजना गर्नु नै आजको आवश्यकता हो भन्नुभयो । साथै देश विदेशमा हुने प्रतियोगिता र प्रतिस्पर्धाले खेलको स्तरमा विकास गर्ने भएकाले यसतर्फ पनि खेल सम्बद्ध संस्थाहरूले विशेष चासो दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button