तपाईँ सुन्दै हुनुहुन्छः

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।

सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गर्नुभयो । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो । उहाँले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवम् होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उहाँको भनाइ छ ।

बङ्गलादेशका वरिष्ठ फोटोग्राफर डा इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो । तीन दिनसम्म चल्ने कला प्रदर्शनीमा बङ्गलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र राखिएका छन् ।

पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट ग्रुपले सातौँ कला प्रदर्शन नेपालमा गरेको ग्रुपका अध्यक्ष नारगिस सोमाले जानकारी दिनुभयो । उक्त गुप्रले यसअघि जापान, श्रीलङ्का, बङ्गलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button