तपाईँ सुन्दै हुनुहुन्छः

अदालतबाट सफाइ पाए पछि यादव सम्हाले कार्यभार

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकामा गाउँपालिका अध्यक्षले विशेष अदालतबाट सफाइ पाए पश्चात् फेरि उमेश यादवले कार्यभार सम्हालेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि निलम्बनमा परेका अध्यक्ष  यादवलाई विशेष अदालतले सफाई दिएपछि एक समारोहका बीच सो पदभार सम्हाल्नु भएको हो । 

मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न वडा अध्यक्ष, स्थानीय बुद्धिजीवी, छिन्नमस्ता हस्पिटल प्रालिका अध्यक्ष शैलेन्द्र मोहन झा लगायतकाले अध्यक्ष यादवको सफल कार्यकालको शुभकामना मन्तव्य दिनु भयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्त कुमार मण्डलले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले निर्वाचनमा हारजित स्वाभाविक रहेको भन्दै हारको मानसिकताले ग्रस्त भएर जननिर्वाचित प्रतिनिधिमाथि षडयन्त्र गर्नु शोभनीय नहुने बताउनु भयो।

उहाँले गाउँपालिका अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरूले एकताबद्ध भएर जनताको लागि विकासमय कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनु भयो। 

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफू जनताको सेवक रहेको भन्दै जनताका लागि विकासमय काम गर्न अहोरात्र खट्दा समेत आफूमाथि षड्यन्त्र भएको बताउनु भयो ।  कार्यभार समारोहमा आगामी विकासमय कार्यक्रम समेत प्रस्तुत गरेका उहाँले एक वर्षको अवधिमा आफूले गरे बमोजिमको काम विगतको पाँच वर्षमा पनि हुन नसकेको दाबी गर्नु भयो। कार्यक्रममा राजनीतिक दलका नेता, कर्मचारी ,सञ्चारकर्मी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button