तपाईँ सुन्दै हुनुहुन्छः

मेला महोत्सवमा गीत संगितका नाममा विकृति,सरोकारवालाको चिन्ता

नवलपरासी,पश्चिम् । पछिल्लो समय मेला महोत्सवमा हुने साङ्गीतिक प्रस्तुतिमा विकृति भित्रँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । मेला महोत्सवमा स्टेजमै केही कलाकारले अभद्र प्रस्तुति दिने गरेपछि गीत सङ्गीतको नाममा अश्लीलतासमेत झल्किने गरेको सरोकारवालाहरूले टिप्पणी गरेका छन् ।

बर्दघाट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सातौँ कृषि,पर्यटन,संस्कृति तथा औद्योगिक व्यापार मेलाको सोमबार गरिएको समापन समारोहमा बोल्ने अधिकांश वक्ताहरूले लोक संगितका नाममा भित्रिएको विकृति प्रति चिन्ता व्यक्त गर्दै यस्ता क्रियाकलापलाई निरुत्साहित गर्नु पर्ने बताउनुभयो । 

बर्दघाट व्यापार मेला समापनको अघिल्लो दिन साँझ पख कलाकार दुर्गेश थापाको प्रस्तुति रहेको थियो ।प्रस्तुतिका क्रममा थापाले दुई तीन पटक नै प्रस्तुतिको बीच बीचमा अश्लील शब्द प्रयोग गरेका थिए । मेला भर्न आएका सबै उमेर समूहका दर्शकलाई उक्त शब्द पाच्य नभएपछि यतिखेर यो विषयको आलोचना भइरहेको छ । उक्त प्रस्तुति भइरहँदा स्टेजमा गायक चन्द्र शर्माकोसमेत प्रस्तुतिका लागि उपस्थिति रहेको थियो ।

समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले मनोरञ्जनको नाममा विकृति भित्रन नहुने बताउनु भयो । मेला महोत्सवले कला संस्कृति संरक्षण र संवर्द्धन गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपानेूपरिश्रमीूले गीत संगितका नाममा देशै भरिनै विकृति मौलाउन थालेको बताउनु भयो ।कलाकार दुर्गेश थापाको प्रस्तुतिको विषयमा कुलपति न्यौपानेले भन्नुभयो माथिबाट आयात गरिएका केही कलाकारले अश्लीलताका माध्यमबाट आफ्नो प्रचार र विज्ञापन गरेर जान्छन् ।एक छिनका लागि ताली बज्ला वाहवाही त होला,कहिले रुचाउलान् पनि तर यस्ता प्रस्तुतिले संस्कृतिको जगेर्ना हुँदैन ।’ मेला महोत्सवमा स्थानीय पहिचान र कला संस्कृति झल्किन सक्नु पर्ने डा.न्यौपानेको जोड थियो ।

समापन समारोहमा बोल्दै बर्दघाट नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ,उद्योग वाणिज्य सङ्घका सल्लाहकार दामोदर जिसि,पत्रकार महासङ्घ नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपाने एवम् लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका  सल्लाहकार एकदेव पाण्डेले ठेक्का प्रणालीले मेला महोत्सवमा पैसा उठाउने बहानामा ठेकेदारले मनोमानी रूपमा कलाकार बोलाउने प्रवृत्तिले संस्कृतिका नाममा अभद्र प्रस्तुति हुने गरेको र यसले बाल मनोविज्ञानमा नकारात्मक असर परेको  बताउनु भयो ।मेला महोत्सवमा पुराना कलाकारहरू समेटिन नसक्नु दुखद रहेको सल्लाहकार पाण्डेको भनाई थियो । 

‘गीत गाउने भन्दैमा मुखमा आएको फोहोर बोलेको छ,आमा दिदी बहिनी छोराछोरी सँग बसेर त हेर्नै नमिल्ने खालको रहेछ,कलाकार भन्दैमा खुलमखुला यस्तो बोल्नेलाई किन बोलाउनु,यसरी पनि संस्कृतिको जगेर्ना हुन्छ’,मेला भर्न आएका एक दर्शकले भने ।

मेलामा समाचार सङ्कलनका लागि पुगेका स्थानीय पत्रकार नारायण भण्डारीले दुर्गेश थापाको प्रस्तुति  भइरहँदा आफूसँगै आएको छोरालेसमेत मेलामा यस्तो बोल्न पाइन्छ र १भनेर प्रश्न गर्दा आफू नाजवाफ भएको बताउनु भयो ।अघिल्ला वर्षहरूमा समेत यस्ता गतिविधिहरू हुन नदिन आवाज उठाउँदै आएको पत्रकार भण्डारीले बताउनु भयो ।

बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले दुर्गेश थापाले असभ्य प्रस्तुति प्रस्तुत गरेपछि उहाँलाई चेतावनी दिइएको बताउनु भयो । ‘मेले भेटेरै भने आइन्दा यस्तो शब्द बोल्नु भयो भने तपाईँलाई महोत्सवमा बोलाइँदैन भनेर मैले आपत्ति जनाएको छु’ अध्यक्ष न्यौपानेले भन्नुभयो ।अश्लीलता र अभद्र प्रस्तुतिकै कारण केही कलाकारलाई यो वर्ष नबोलाइएको न्यौपानेले बताउनु भयो ।

 समाजमा अपाच्य हुने सिर्जना प्रस्तुतिले  मौलिकता समेत हराउँदै गएको सरोकारवालाको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button