तपाईँ सुन्दै हुनुहुन्छः

घरमै हस्तकला र चित्रकला सङ्ग्रहालय : खेर गइरहेको सामाग्री प्रयोगमा ल्याउँदै कलाकारिता निभाएका श्यामानन्द (फोटो फिचर)

बाँके । बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका बाँके गाउँ निवासी ६६ वर्षीय श्यामानन्द सिंहले लामो समय देखि हस्तकला र चित्रकलाका सामाग्री बनाउँदै आइरहनु भएको छ। श्यामानन्द जति व्यस्त सामाग्री निर्माणमा हुनुहुन्छ त्यति नै व्यस्त ती सामाग्रीहरूको संरक्षणमा पनि देखिनुहुन्छ। नेपाल टेलिकममा जागिरे रहनु भएका सिंहले अवकाश पाए पछि २०७० सालपछि कलाकारितामा आफ्नो व्यस्तता बढाउनु भएको हो।

श्यामानन्द पश्चिम नेपालमै नाम कहलिएका कलाकार हुनुहुन्छ । उहाँले काठमाडौँ लगायत देशका अन्य ठाउँहरूमा आयोजना गरिएका दर्जनौँ चित्रकला प्रतियोगितामा पुरस्कार जित्दै आफ्नो नाम अनि ठाउँलाई देशभरि चिनाउन सफल हुनु भएको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँद्वारा आयोजना गरिने राष्ट्रिय स्तरको चित्रकला प्रतियोगितामा समेत उहाँले निर्णायकको रुपमा समेत भूमिका निर्वाह गरिसक्नु भएको छ। बिगत तिन दशक बढी समयदेखि कलाकारितामै रहनु भएका श्यामानन्द सिंहले बाँके गाउँस्थित आफ्नै निवासमा कला सङ्ग्रहालय स्थापना गर्नुभएको छ। आफ्नो घर भाडामा नदिएर सङ्ग्रहालय स्थापना गरेको बताउँदै उहाँले सङ्ग्रहालयको अवलोकन गर्न आउनेलाई निःशुल्क सुविधा दिनुभएको छ।

यस्तै विद्यालयका बालबालिकाहरूलाई श्यामानन्द सिंहले स्थापना गरेको सङ्ग्रहालयको अवलोकन गराउन पाउँदा बालबालिका निकै खुसि हुने गरेको र त्यहाँबाट केही न केही नयाँ कुरा सिकेर आउने गरेको शिक्षिका ललिता शर्मा बताउनुहुन्छ। उहाँले विद्यार्थीले मात्र नभएर आफूले पनि हामीले प्रयोगहीन भनेर फाल्ने गरेका तरकारीका बोक्रा सलाईको डिब्बा काटी, पानीका बोटल जस्ता सामाग्रीहरूलाई पुनः प्रयोगमा ल्याएर गरिएको कलाकारिताले आफूलाई नि आकर्षित गरेको बताउनु भयो।

श्यामानन्द सिंह बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ । उहाँ चित्रकला सङ्गै हस्तकला लेखन र वाद्यवादनमा पनि निकै पोख्त हुनुहुन्छ।

खेर गएका सामाग्रीहरू पुराना कागज,बोटल, फम , केराका पात,सलाईका बट्टा लगायतका सामाग्रीहरूबाट विभिन्न जातजातिको धर्म र समुदायको पहिचान झल्किने कलाकृतिहरू जस्तै रथ, रानिमहल, लोपोन्मुख सम्पदा भगवानका मूर्तिहरू, सवारीसाधनहरू एवं घरमा आवश्यक पर्ने सामाग्रीहरू गरि करिब पाँच हजार बढी कलाकृतिहरू निर्माण गरिसक्नु भएको छ।

उहाँले बनाएको सङ्ग्रहालयमा हस्तकलातर्फ खेर जाने बस्तु कागजबाट निर्मित पुराना एवं लोपोन्मुख सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहर र फमबाट निर्मित आकर्षक कलाकृतिहरू रहेका छन् । त्यस्तै चित्रकलातर्फ भने ल्याण्डस्किप , अमूर्त, नाइफ आर्ट लगायतका चित्रहरु राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button