तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादन : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताउनुभएको छ । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास पहिलो सर्तका रुपमा रहेको उहाँले बताउनुभयो ।

काठमाडौँमा यही वैशाख ४ गतेदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडीलाई आज पोखरामा बिदाइ गर्दै उहाँले खेलाडीलाई उच्च मनोबलका साथ अनुशासित भएर प्रदेशको शान माथि उठाउने गरी खेल्न र सफलता प्राप्तिको शुभकामना दिनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकी प्रदेशको शान माथि उठाउने गरी मैदानमा अनुशासित बनेर खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु, गण्डकी प्रदेशको इज्जतका लागिसमेत यहाँहरूलाई सफलता प्राप्त होस् ।” प्रदेश सरकार सक्षम जनशक्ति उत्पादनको अभियानमा लागेको मुख्यमन्त्री अधिकारीले बताउनुभयो ।

“मान्छेलाई रोग लाग्नु दिनु हुँदैन, रोग लाग्न दिनुभन्दा अघि नै ‘प्रिभेन्सन’ आवश्यक छ, स्वस्थ नागरिकबाट उत्पादकत्व वृद्धि हुन्छ, सरकार सक्षम जनशक्ति उत्पादनमा लागेको छ, त्यसका लागि खेलकुदको विकास पहिलो सर्त हो”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीलाई टीका लगाएर बिदाइ गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ९८ खेलाडीसहित प्रशिक्षक र ‘टिम म्यानेजर’ गरी एक सय १५ जनाको सहभागिता रहने प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयो ।

रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र कराँतेतर्फका खेलमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा सात प्रदेशबाट छ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । विभिन्न छ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button