तपाईँ सुन्दै हुनुहुन्छः

‘महत्वपूर्ण विषय सम्बोधनका लागि कांग्रेस–एमाले सहकार्य आवश्यक’

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशका महत्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र एमालेबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित ‘संवाद यात्रा’का क्रममा बाँकेको खजुरामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकार गठनका लागि नभई देशको महत्वपूर्ण विषयलाई सम्बोधन गर्न कांग्रेस र एमालेका बीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

निर्वाचन प्रणाली परिवर्तन लगायत सङ्घीयताको सफल कार्यान्वयनका लागि अझै धेरै महत्वपूर्ण कानुन बनाउनुपर्ने भन्दै महामन्त्री थापाले यसका लागि मुख्य दलहरूका बीचमा सहकार्य र समझदारी जरुरी रहेको स्पष्ट पार्नुभयो । सरकार जिम्मेवार ढंगले प्रस्तुत भए रचनात्मक सहयोगका लागि कांग्रेस तत्पर रहेको महामन्त्री थापाको भनाई छ ।

क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा भएको कार्यक्रममा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रिय सदस्यहरु मैकुलाल वाल्मीकि, मधु आचार्य, प्रतिमा गौतम लगायतको उपस्थिति थियो ।

महामन्त्री थापाले पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button