तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटक लोभ्याउँदै धनकुटाको संसारी सिमसार (फोटो फिचर)

धनकुटा । धनकुटाको पाख्रीबास नपा–४ मा रहेको संसारी सिमसार क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । पाख्रीबास बजारसँगै रहेको संसारी सिमसार क्षेत्रमा हरेक दिन पर्यटक पुग्ने गरेका छन् ।  

यो सिमसार क्षेत्र २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । जोडी ताल, बोटिङ सुविधा, बुद्धको मूर्ति, मिनी जू, आकर्षणका लागि बनाइएको संसारी एयरलाइन्स यहाँका आकर्षण हुन् । ताल वरिपरिको चिया बगानले यहाँ पुग्ने पर्यटकलाई रोमाञ्चित बनाउँछ । सिमसार क्षेत्रभित्र पिकनिक स्पट बनाइएका छन् । बालबालिकाको मनोरञ्जनका लागि पिङ र रोटे पिङ निर्माण गरिएका छन् । 

 पहिले पोखरी रहेको यस क्षेत्रलाई २०६९ देखि सिमसार क्षेत्रको रूपमा संरक्षण गर्न सुरु गरिएको थियो । क्रमशः पर्यटनमैत्री ढङ्गले यसको विकास र पूर्वाधार निर्माण गरिएपछि संसारी सिमसार क्षेत्र पर्यटकहरूको रोजाइमा पर्न थालेको हो । 

विशेष पर्व, उत्सव र बिदाको दिन पर्यटकको भिड लाग्ने बोट सञ्चालक गणेश कुमार गुरुङले बताए । सिजनको बेला वनभोज खानेहरूको भिड लाग्ने यहाँ स्कुले बालबालिका, आन्तरिक र बाह्य पर्यटक समेत पुग्ने गरेका छन् । सिमसार क्षेत्र विचरणका लागि २० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । तालमा बोटिङ गर्न प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धनकुटा सदरमुकामदेखि करिब १८ किलोमिटर उत्तर पश्चिममा अवस्थित संसारी सिमसार क्षेत्र पर्यटकीय बजार हिलेबाट ६ किलोमिटर दूरीमा रहेको छ । हिलेबाट पुष्पलाल मध्य पहाडी लोक मार्ग भएर पाख्रीबास, संसारी सिमसार क्षेत्र पुग्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button