तपाईँ सुन्दै हुनुहुन्छः

चैते धान खेतीप्रति मोरङका किसानको आकर्षण बढ्दै

विराटनगर । चैतै धानको उत्पादन बढाउन कृषि ज्ञान केन्द्रले किसानलाई प्रोत्साहन स्वरूप प्रतिकट्ठा पाँच सय रुपैयाँ उपलब्ध गराउन थालेपछि मोरङमा चैते धान खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ ।

दुई वर्षदेखि सञ्चालन हुँदै आएको कृषि ज्ञान केन्द्रको चैते धान खेती विस्तार कार्यक्रमले मोरङ जिल्लामा चैते धान खेतीको क्षेत्रफल समेत विस्तार हुन थालेको छ ।

पथरी शनिश्चरे नगरपालिका– ९ स्थित कृषि चौरी कृषि सहकारी संस्थामा आबद्ध किसानहरुले ४५ विघा क्षेत्रफल जग्गामा चेते धान खेती गरेका छन् । ज्ञान केन्द्रले प्रोत्साहन स्वरूप रकम उपलब्ध गराउने भएपछि संस्थामा आबद्ध किसानले सामूहिक रुपमा चैते धान खेती गर्दै आएका छन् । यो कार्यक्रम सञ्चालनमा आएपछि १७ वटै पालिकामा चैतेधानको क्षेत्रफल विस्तार हुन थालेको छ ।

ज्ञान केन्द्रले प्रोत्साहन रकम दिने भएपछि बेलबारी नगरपालिका ५ का सुशान्त निरौलाले यो वर्ष डेढ विघा जग्गामा चैते धान खेती लगाउनुभएको छ । आठ वर्ष मलेसिया काम गरेर उहाँ गाउँ फर्कनुभएको हो । डेढ बिघामा एकसय मन धान उत्पादन हुने उहाँको अनुमान छ ।

सोही ठाउँका पूर्व वडाध्यक्ष देवेन्द्र कार्कीले पनि यसपटक एक विघाहा जग्गामा चैते धान खेती गर्नुभएको छ । चैते धानमा कम फाइदा भए पनि ज्ञान केन्द्रले उपलब्ध गराउने रकमले केही राहत हुने भएकाले खेत बाँझो नराख्न चेते धान लगाएको उहाँको भनाई छ ।

मोरङ जिल्लामा यो वर्ष २२ हजार बढी हेक्टर जग्गामा चैते धान खेती लगाइएको छ । यो गत वर्षभन्दा पाँच प्रतिशतले बढी हो ।

चैते धानको बिक्रीमा समस्या नभए पनि लगानी अनुसार मूल्य नपाउने भएकाले सरकारले चैते धानको उचित मूल्य तोक्नुपर्ने किसानको भनाई छ ।

चैते धानखेती विस्तार कार्यक्रम अन्तर्गत १० कट्ठा भन्दा माथि र बीस हेक्टरसम्म चैते धानखेती गर्ने व्यक्ति, किसान समूह तथा सहकारीलाई मागअनुसार उक्त रकम उपलब्ध गराउने गरेको कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंहको भनाई छ । २० हेक्टरभन्दा माथी चेते धान खेती गर्ने कृषक समूह तथा सहकारीले २० हेक्टरको मात्र प्रोत्साहन रकम पाउने व्यवस्था रहेको कार्यालय प्रमुख सिंहको भनाई छ । प्रदेश सरकारले धानको उत्पादन बढाउन यो कार्यक्रम ल्याएको हो ।

फागुनको अन्तदेखि चैत महिनामा रोपिने यो धान असारमा उत्पादन हुन्छ । चैते धान खेतीका लागि प्रति विघा २० हजारदेखि २५ हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको छ ।

कृषि ज्ञान केन्द्रले चैते धान खेती विस्तार कार्यक्रम अन्तर्गत किसानहरूलाई चैते धान खेती गर्न दुई वर्षदेखि अनुदान दिँदै आएको छ । अर्का कृषक प्रितम बाँस्कोटाले प्रोत्साहन स्वरूप स्थानीय सरकारलाई उत्पादित धान खरिद गर्न आग्रह गर्नुभयो ।

अहिले किसानहरुले चैते दुई, चैते पाँच र हरिनाथ जातको धान लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button