तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई राष्ट्रपतिको सुझाव: ‘सम्पुर्ण नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुगोस्’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्नका लागि प्राथमिकता दिएको बताउँदै संविधानको यो प्राथमिकता कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३औँ वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । “संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्ने गरी व्यवस्था गर्ने, सेवालाई पूर्णतया निःशुल्क बनाउने र सबैको समान पहुँच र हिस्सेदारी कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो, “ संविधानको यो व्यवस्थाको कार्यान्वयन गर्न सरकारले गम्भीर भएर सोच्नुपर्छ भन्ने मलाई लाग्छ । आधुनिक समयमा स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याको पहिचान गर्न तथा ती समस्याको समाधानको लागि यस क्षेत्रमा निरन्तर अध्ययन, अनुसन्धान र विकास हुन पनि जरुरी छ ।

उहाँले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, सङ्क्रामक रोग इत्यादि मुद्दाहरूलाई विशेष प्राथमिकतामा राखी अध्ययन अनुसन्धानका कार्यलाई आगामी दिनमा अझै सक्रिय भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई ध्यान दिन स्वास्थ्य वैज्ञानिकहरूलाई आग्रह गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबलम्बन गर्ने नीति तथा रणनीतिहरूलाई सघाउन तथ्यमा आधारित प्रमाणहरू जुटाउने कार्यमा तदारुकताका साथ लागिरहने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button