तपाईँ सुन्दै हुनुहुन्छः

चैत २७ गतेबाट सुरु हुने पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति पौडेलद्वारा उद्घाटन गरिने

सुनसरी । धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं-१ स्थित चतरा धाममा बाह्रबर्षे पूर्ण महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु हुने भएको छ ।

कुम्भ मेलाका परिकल्पनाकार नेपालका प्रथम जगत् गुरु बाल सन्त मोहन शरण देवाचार्यका अनुसार मेलालाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने बताएका छन्  । 

उपराष्ट्रपति,प्रधानमन्त्री,प्रधानन्यायाधीश र सङ्घीय सरकारका मन्त्री तथा जनप्रतिनिधीहरुलाई समेत निमन्त्रणा गरिएको जगद्गुरु देवाचार्यले जानकारी दिए ।

मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल , हवन कुण्ड,सहयोग स्थल,सुरक्षा ,स्वास्थ्य ,भण्डारा , बसपार्क सहित सम्पूर्ण व्यवस्थापन पूरा भएको महाकुम्भ मेला मूल आयोजक समितिका सह–अध्यक्ष बराह क्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले बताए ।

चैत २७ देखि वैशाख २८ गतेसम्म सञ्चालन हुने १२ बर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माणसँगै सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको आयोजकले जानकारी दिएको छ ।

एक महिनासम्म चल्ने उक्त मेलामा नेपालका सुदूरपश्चिम लगायत मध्यपश्चिम र अन्य भागबाट समेत श्रद्धालुहरूको सहभागिता रहने साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाको उल्लेखनीय सहभागिता रहने सह–अध्यक्ष कार्कीले बताए ।

भक्तजनका लागि खाने, बाहिरबाट आउने पाहुनालाई बस्ने र बिरामी हुँदा उपचारको व्यवस्थासमेत मिलाइएको उनले बताए । कुनै आपत् पर्दा २४ घण्टा नै दमकल र दुईवटा एम्बुलेन्स व्यवस्था गरिएको सह–अध्यक्ष कार्कीले भने ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ वर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । नेपालको सुनसरीस्थित चतरा धाम र भारतको हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमै जम्मा ५ स्थानमा १२÷१२ वर्षमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठुलो मेलाका नामले चिनिन्छन् ।

कुम्भ मेलामा भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकहरू खटिने बाल सन्त मोहन शरण देवाचार्य जगद्गुरुले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button