तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धको ज्ञान सवैका लागि अनुकरणीय : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्धको ज्ञान विश्वका लागि नै कल्याणकारी रहेकाले सवैका लागि यो अनुकरणीय विषय भएको बताउनुभएको छ ।

श्रीखण्ड तरुमूल महाविहार (सिखंमुवहाः) का परिवर्जित कुलपुत्र भिक्षुहरूलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबिच भिक्षा दान प्रदान गर्नुहुँदै राष्ट्रपति पौडेलले बुद्धको उपदेश, दर्शन र भनाइहरूबाट परिवर्जित भएका भिक्षुहरूले आफ्नो जीवनलाई त्यसअनुसार नै अघि बढाउँदै विश्वकै हितमा काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले महाविहारका मुलाचार्य गुरु यज्ञमानपति बज्राचार्यलाई भिक्षा दान प्रदान गरेपछि मुलआचार्य गुरु बज्राचार्यले प्रत्येक नव भिक्षुहरूलाई दान दिनुभएको थियो ।

श्रीखण्ड तरुमूल महाविहार (सिखंमुवहाः) का परिवर्जित २४ जना कुलपुत्र भिक्षुहरूलाई भिक्षा दान प्रदान गरिएको थियो ।

कार्यक्रममा श्रीखण्ड तरुमूल महाविहारका उपाध्यागुरु मञ्जुश्री रत्न बज्राचार्यले बौद्ध परम्परा अनुसार भिक्षु भइसकेपछि राजकुल गमन जानुपर्ने प्रावधान रहेकाले राष्ट्रपतिबाट त्यस्तो अवसर पाउँदा आफूहरूलाई हौसला प्रदान भएको बताउनुभयो । गृहस्थमै रहेर जनता र देशको सेवा गरी संसारका सवैमा करुणाको भाव जगाउने उद्देश्यले महाविहारका कुलपुत्रहरुलाई परिवर्जित गर्दै भिक्षु बनाइँदै आएको श्रीखण्ड तरुमूल महाविहारले जनाएको छ ।
तस्वीरः सानुराजा बज्राचार्य

प्रतिक्रिया राख्नुहोस्

Back to top button