तपाईँ सुन्दै हुनुहुन्छः

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि 

काठमाडौँ I करदाता सेवा कार्यालयहरूबाट सङ्कलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ । 

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व सङ्कलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिनुभयाे । उहाँले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गर्नुभयो । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् । 

ती कार्यालयहरूले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर सङ्कलन गर्दै आएका छन् । यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरूको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यमद्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिनुभयाे । समीक्षामा उहाँले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिनुभयाे । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button