तपाईँ सुन्दै हुनुहुन्छः

‘छोराछोरी निजीमा पढाएर सरकारी विद्यालयको गुणस्तर सुध्रेन भन्ने परिपाटी बन्द गरौँ’

नवलपरासी पश्चिम् । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् ।पछिल्लो समय सामुदायिक विद्यालयले राम्रो नतिजा दिन नसकिरहँदा गुणस्तर उकास्न लागि स्थानीय तहहरू ठोस नीति लिएर अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

शनिबार बर्दघाट नगरपालिकामा आयोजित शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सामुदायिक विद्यालयको गुणस्तरमा सरोकारवाला र सम्बन्धित व्यक्तिहरू नै विश्वस्त हुन नसक्नु नै गम्भीर विषय रहेको औँल्याएका छन् ।

बर्दघाट नगरपालिकाका ३७ वटा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नगर शिक्षा समितिका पदाधिकारी,सुनवल नगरपालिका र देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख लगायत सरोकारवालाबिच अन्तरक्रिया गरिएको थियो ।

पश्चिम् नवलपरासीको बर्दघाट र सुनवल नगरपालिकाले नगरको सेवा सुविधा लिने कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूले छोराछोरी सरकारी विद्यालयमै पढाइनुपर्ने नीति निर्माण गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले अङ्ग्रेजी माध्यमसँगै नेपाल सरकारले लागू गरेको पाठ्यक्रम सामुदायिक विद्यालयहरूमा पढाइनुपर्ने बताउनुभयो । विद्यालयको भौतिक बिकास भन्दा गुणस्तर सुधारमा लाग्न श्रेष्ठको आग्रह थियो ।

सुनवल नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद गोतामेले सामुदायिक विद्यालयको गुणस्तरमा आफैले विश्वास नगर्ने र आफैले छोराछोरी निजीमा राखेर पढाउने शिक्षक र कर्मचारी बाट गुणस्तरमा सुधार नहुने बताउनुभयो । ‘जस्ले निजीमा छोराछोरी पढाएका छन्, उनीहरूले नै सामुदायिक विद्यालयको गुणस्तर सुध्रेन भनेर हल्ला गर्छन् यो प्रवृत्ति अन्त्य गरौँ’ गोतामेले भन्नुभयो ।

विशेष गरेर वर्तमान अवस्थामा सामुदायिक विद्यालयमा घट्दै गएको शैक्षिक गुणस्तरको बाटोमा अहिले सर्वत्र चिन्ता र चासो छ । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्नु, विद्यालयहरू मर्जको अवस्थामा रहनु र शिक्षा क्षेत्रमा हुने राजनीतिकरण पनि गुणस्तरको बाधक बन्ने गरेको सरोकारवालाको निष्कर्ष रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button