तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

तेल अभिव।  इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गर्नुभएको छ । 

नयाँ कानूनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई अधिकार प्रदान गरेको सिएनएन बताएको छ ।

“तत्काल नयाँ कानूनअनुसारको कार्य गर्न कतार आधारित समाचार आउटलेटको गतिविधिलाई देशमा रोक्ने निर्णय गरिएको हो”, नेतान्याहुले भन्नुभयो ।
 
सिएनएनका अनुसार गाजामा हमासविरुद्ध इजराइल युद्धको क्षेत्रगत रिपोर्टिङ गर्न प्रतिबद्ध अल जजिरा मिडिया नेटवर्कले एक विज्ञप्तिमार्फत उक्त निर्णयको निन्दा गर्दै आफू आफ्नो ‘साहसी र व्यावसायिक कभरेज’ जारी राख्न यस्ता निर्णयले नरोकिने वाचा गरेको छ ।  

नयाँ कानूनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई इजराइलमा सञ्चालित विदेशी नेटवर्कहरू अस्थायीरूपमा बन्द गर्न आदेश दिनसक्ने अधिकार प्रदान गर्दछ ।

सिएनएनका अनुसार इजराइलको हमासविरुद्ध चलिरहेको युद्ध तथा नेतान्याहुविरुद्धको बढ्दो सार्वजनिक असन्तुष्टि र विरोधका बीच सोमबार संसद्ले सो कानून अनुमोदन गरेको हो । नेतान्याहु सरकारले इजराइली विरोधी सूचना फैलाएको आरोप लगाउँदै अल जजिराको सञ्चालनमा लगातार गुनासो गर्दै आएको छ ।

प्रधानमन्त्री नेतान्याहुले सोमबार अल जजिरालाई हमासको पक्षमा रहेको आरोप लगाउनुभयो । साथै अक्टोबर ७ मा भएको आक्रमणमा सक्रिय सहभागी रहेको र आइडीएफ (इजरायली सुरक्षा बल) सैनिकहरू विरुद्ध उक्साएको आरोप लगाउनुभयो ।

कतारी सरकारले आंशिक लगानी गरेको अल जजिराले यी सबै ‘निन्दनीय आरोपहरू’ हुन् भन्दै यसले अल जजिराको प्रतिष्ठा मात्र नभई विश्वव्यापीरूपमा यसका कर्मचारीहरूको सुरक्षा र अधिकारलाई पनि खतरामा पार्ने बताएको छ ।
 
“अल जजिराको अवरोधले डरलाग्दो र चिन्ताजनक स्थितिको आङ्कलन गर्छ । यसले प्रेस स्वतन्त्रतालाई प्रतिबन्धित गर्दछ तथा इजराइल र प्यालेस्टिनका घटनाहरूको वास्तविकतामा विश्वका नागरिकहरूको पहुँचलाई थप सीमित गर्दछ”, इजरायल मानव अधिकार वाच र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले सिएनएनलाई भन्नुभयो ।
 
अक्टोबर ७ मा हमासले इजराइलमा गरेको घातक हमलाले इजराइल र हमास बीचको युद्ध सुरु भएको हो । इजराइली रिपोर्टअनुसार युद्धमा एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् भने लगभग दुई सय ५० जनालाई बन्धक बनाइएको छ । जवाफमा इजराइली सेनाले हमास नियन्त्रित गाजामा व्यापक गोलाबारी र भूमिगत कारबाही गरेको हो । गाजामा जारी हिंसाका बीच त्यहाँ मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेको हमास सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button