तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदले युवाहरूको व्यक्तित्व विकासमा ठूलो योगदान : प्रदेश प्रमुख भण्डारी

जनकपुरधाम। जनकपुरधाममा आज देखि दोस्रो मेयर कप टि–२० क्रिकेट प्रतियोगिता २०८० शुरु भएको छ ।
जनकपुरधामको वडा नंं १४ रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाको क्रिकेट खेल मैदानमा शुरु भएको सो प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका जिल्ला स्तरको क्रिकेट टिमको सहभागिता रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा भएको सो प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज गर्नु भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भण्डारीले मुलुक तथा प्रदेशको समृद्धिको धेरै आधार मध्ये खेलकुद पनि रहेको बताउँदै खेलकुदले बालबालिका तथा युवाहरूको शारीरिक, मानसिक तथा व्यक्तित्वको विकासमा ठूलो योगदान दिने गरेको बताउनु भयो । उहाँले मधेश प्रदेश क्रिकेट खेलमा निक्कै अगाडी भएको चर्चा गर्दै यस क्षेत्रमा क्रिकेट सहित अन्य खेलको विकासका लागि निर्माणाधीन अवस्थामा रहेको रामजानकी ररंगशालाको निर्माण छिटो हुन जरुरी रहेको बताउनु भयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले रामजानकी बहुउद्देश्यीय रङ्गशालाको डिपिआर तयार पार्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउँदै अर्को आर्थिक वर्ष देखि रङ्गशालाको निर्माणका लागि बजेट विनियोजन गरिने बताउनु भयो । उहाँले यस क्षेत्रको खेलकुदको विकासका लागि स्थानीय तहले गरिरहेको भूमिकाको सराहना गर्दै मेयर कप क्रिकेट प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा ठूलो योगदान पुग्ने आशा व्यक्त गर्नु भयो । अध्यक्षको आसनवाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि डिपिआर तयार गर्न २ करोड रकम विनियोजन गरिसकेको बताउँदै डिपिआर बनाउनमा ढिलाइ हुन नहुने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा वडा नंं १४ का वडाध्यक्ष पूण्र्यप्रसाद यादव, रंगशाला निर्माण अभियानका संयोजक दिनेश पूर्वे सहितका वक्ताहरूले जति सक्दो चाढो रंगशालाको निर्माण गर्नका लागि सबै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गर्नु भयो ।
दुई वटा समूहमा विभाजन गरेर भइरहेको सो प्रतियोगिताको फाईन खेल चैत्र २४ गते हुने भएको जिल्ला क्रिकेट संघका वरिष्ठ सदस्य सरोज कुमार मिश्रले जानकारी दिनु भयो । आजको उद्घाटन खेल धनुषा तथा सर्लाहीका बीचमा भइरहेको छ ।

टस जितेर धनुषाले व्याटिङ्ग रोजेका थिए । प्रतियोगितामा विजयी हुने टिमलाई २ ला ५१ हजार नगद,शील्ड, कप तथा प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेता टिमलाई १ लाख ५१ हजार नगद, शिल्ड, कप तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक दिन म्यान अफ दि म्याच हुनेलाई नगद सहित पुरस्कृत गरिने भएको छ । प्रतियोगिता अवधिमा सर्वोत्कृष्ट व्याटिङ्ग गर्ने व्याट्स म्यान तथा सर्वोत्कृष्ट बलिङ गर्ने बलरलाई पुरस्कृत गरिने कार्यक्रम रहेको छ । यसका साथै म्यान अफ दि सिरिज हुनेलाई नगद सहित सम्मान गर्ने प्रतियोगिताको संयोजन गरिरहेका जिल्ला क्रिकेट संघका सचिव अशिष झाले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button