तपाईँ सुन्दै हुनुहुन्छः

घान्द्रुक महोत्सवमा क्लब स्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा एक लाख पुरस्कार राशि भएको क्लब स्तरीय भलिबल तथा बास्केटबल प्रतियोगिता हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुक (अन्नपूर्ण १० र ११) को आयोजनामा यही चैत २७ देखि ३० गतेसम्म सञ्चालन हुने घान्द्रुक पर्यटन महोत्सव २०८० को अवसरमा उक्त प्रतियोगिता हुने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । 

“सबै मौसममा पर्यटन,“स्वास्थ्य लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ मेश्रम बराह माविको परिसरमा हुने उक्त महोत्सवमा विभिन्न सांस्कृतिक तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुती रहने भएको महोत्सवका प्रचार संयोजक अमृत गुरुङ९लामा० ले बताउनु भयो ।

महोत्सवको अवसरमा आयोजना हुने खुल्ला क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यसै गरी महोत्सवमा बास्केटबल प्रतियोगिताका विजेतालाई १ लाख उपविजेतालाई ६० हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा करिब १४ टिमको सहभागिता हुने आफूहरूले अपेक्षा गरेको सुनिल गुरुङले बताउनु भयो ।

त्यस्तै महोत्सवको अवसरमा घोडचढी प्रतियोगिता, छेलो प्रतियोगिता, महिला तर्फको भलिबल, चक्रीय दौड लगायतका खेल गतिविधि हुने भएको छ । महिला तर्फको भलिबलमा प्रथम पुरस्कार ३० हजार, दोस्रो २० हजार ट्रफि मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । राष्ट्रिय खेल खेलेको बढीमा २ जना खेलाडी एक टिममा सहभागिता गराउन पाइने भएको समितिले जनाएको छ । घोडचढीको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ रूपैया प्रदान गरिने भएको छ । 

उक्त महोत्सवले घान्द्रुक क्षेत्रको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुगेको समितिका अध्यक्ष बिक्रम गुरुङले बताउनु भयो । नेपाली नयाँ वर्षको पूर्व सन्ध्यामा हुने उक्त कार्यक्रमले गाउँ पर्यटनको समेत प्रचार प्रसार हुने उहाँले दाबी गर्नु भयो ।

उक्त महोत्सव सम्पन्न गर्न १७ लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा होटल आवासमा ३० प्रतिशत छुट हुने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button