तपाईँ सुन्दै हुनुहुन्छः

बेनीमा म्याद गुज्रेका सामान

म्याग्दी ।  म्याग्दी सदरमुकाम बेनी बजारका व्यवसायी पटक पटकको चेतावनीपश्चात् पनि नसुध्रिएको सरोकारवालाले गुनासो गरेका छन् । बुधबार बजार अनुगमनको समयमा अधिकांश पसलमा म्याद गुज्रेको सामान भेटिएपछि अनुगमनमा सहभागीले उक्त गुनासो गरेका हुन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बागलुङको समन्वय तथा जिल्ला प्रशासन, बेनी नगरपालिका, पर्यटन तथा घरेलु कार्यालय एवं सरोकारवालाको समन्वय तथा सहभागितामा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य सामग्री भेटिँदा उक्त गुनासो आएको हो । जिल्ला प्रशासन कार्यालय, पर्यटन तथा घरेलु कार्यालय तथा नगरपालिकाले पनि बजार अनुगमन गरेर लिखित चेतावनी दिने गरेको भए पनि बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री फेला पर्ने गरेको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक सहन्सा मेहताका अनुसार बेनी बजार क्षेत्रमा गरिएको अनुगमनमा अखाद्य सामग्री पाइएको छ । फेला पारिएको अखाद्य सामग्रीलाई नष्ट गरेर लिखित चेतावनी दिइएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दर्ताबिना व्यवसाय सञ्चालन गर्नेदेखि लिएर दर्ता एउटा गरेर अर्कै व्यवसाय गरेको समेत फेला परेको छ ।” त्यस्ता व्यवसायीलाई एक हप्ताभित्रै आवश्यक कागजात पूरा गरेर मात्रै व्यवसाय सञ्चालनका लागि आग्रह गरिएको उहाँको भनाइ छ । 

बेनी नगरपालिकाका अधिकृत लक्ष्मण पौडेलले बजारमा अनुगमनका क्रममा म्याद गुज्रेको सामान फेला पारेर त्यसलाई जफत गरी नष्ट गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय पसलको नवीकरण गर्न बाँकी तथा अन्य कागजातको अद्यावधिक गर्न बाँकी रहेकालाई पनि तत्काल गर्न निर्देशन दिइएको छ ।” 

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले पहिलाको तुलनामा केही सुधार  भए पनि थप सुधारका लागि कडाइका साथ लाग्ने बताउनुभयो । उहाँले माइकिङ गरेर र पत्राचार गरेरै सामानको म्याद निगरानी गर्न र म्याद गुज्रेको सामानलाई छुट्टै राख्ने व्यवस्था मिलाउनका लागि व्यापारीलाई आग्रह गर्ने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button