तपाईँ सुन्दै हुनुहुन्छः

तारकेश्वरका ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’ स्थापना गरेको छ । नगरपालिका स्थापना भएको सात वर्षपछि तारकेश्वरले आफ्ना जनतालाई घरदैलोमा  न्यायिक सेवा प्रदान गर्ने उद्देश्यले  ११ वटा वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो । 

उक्त कार्यक्रमअन्तर्गत हालसम्म वडा नं १, २ र ३ मा न्यायिक मेलमिलाप केन्द्र स्थापना भइसकेका छन् । नगरपालिका प्रमुख कृष्णहरि महर्जनले समस्या परेका तारकेश्वरबासीलाई घरदैलोमै न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले कुनै ठाउँ, जातजाति, लिङ्ग नहेरी समग्र न्यायिक हिसाबले काम गर्न मेलमिलापकर्तालार्ई आग्रह गर्नुभएको छ । “मेलमिलाप गर्ने क्रममा तपाईँले चिनेजानेका मानिस पनि हुन सक्छन्,” उहाँले भन्नुभयो, “वादी वा प्रतिवादीको विषयमा निर्णय गर्नुपूर्व उनीहरूले गरेको कुरा न्यायिक छ कि छैन ? त्यो मूल्याङ्कन गर्ने क्षमता तपाईँहरूमा हुनुपर्दछ ।”

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरको न्याय सम्पादन चुस्त, दुरुस्त र जनतालाई छरितो रुपमा प्रदान गर्न मेलमिलापकर्ताले काम गर्नुपर्ने बताउनुभयो । “मेलमिलाप गराउने क्रममा दबाब र प्रभाव आउन सक्छ, निडर भएर काम गर्नुहोस्,” उहाँले भन्नुभयो ।

विसं २०७३ मा स्थापना भएको तारकेश्वर नगरपालिकाको न्यायिक समितिले ११ वटा वडाका उजुरी केन्द्रीकृत गरेर न्यायिक निरुपण गर्दै आए पनि अब वडामै न्यायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट ४८ घण्टाको तालिम मेलमिलापकर्तालाई दिएर हरेक वडामा मेलमिलाप केन्द्र राख्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय निकायको उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अर्धन्यायिक निकायको परिकल्पनासहित न्यायिक समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button