तपाईँ सुन्दै हुनुहुन्छः

इण्डो–नेपाल टी–२० : सेमिफाइनलमा भिड्दै लखनउ र कोलकता

चितवन । भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा मंगलबार लगातार जित निकाल्दै भारतीय टोली पीएसआर ग्रुप लखनउ र तलाताला कोलकता सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेश माथि कोलकताले ३ रनको रोमाञ्चक जित हात पा¥यो । कोलकताले दिएको १७३ रनको लक्ष्य पछ्याएको बागमती ६ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सकेपछि ३ रनको झिनो हार ब्यर्होन बाध्य भयो । बागमतीका लागि उत्तम थापा मगरले ५१ बलमा ६२ रनको अर्ध शतक पार गरेपनि  जितका लागि भने पर्याप्त भएन । रविन जोशीले ३० रनको योगदान दिए ।

कोलकताका लागि सौरभ यादवले ४ ओभरमा ४१ रन खर्चिँदै ३ विकेट लिए भने प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३१ रन खर्चिँदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । कोलकताका लागि सन्दीप गुप्ताले ४६ बलमा ७१ रनको अर्धशतकीय पारी खेले भने रमन कदायनले ३३ रन बनाए ।

बागमतीका लागि ईशान पाण्डेले ४ ओभरमा ३१ रन खर्चिँदै ३ विकेट लिए भने मनोज यादवले ४ ओभरमा ४३ रन खर्चिँदै २ विकेट लिए । यस खेलमा कोलकताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आजै भएको दोस्रो खेलमा भारतीय टोली पीएसआर ग्रुप लखनउले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । लखनउले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो । मधेशका लागि राहुल मण्डलले ३२ बलमा ४७ रन बनाए भने विशाल सुशलिङले ३५ बलमा ४१ रन बनाए ।

लखनउका लागि मोहम्मद सरिम र प्रिन्स शाहीले समान ४ विकेट लिए । सरिम र शाही दुवैले ४ ओभरमा २७ रन नै खर्चिएका थिए । अर्पित शुक्लाले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा २२१ रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा लखनउले बनाएको याे नै ठूलो योगफल हो । यसअघि पनि लखनउले भरतपुर मेयर्स ११ विरुद्ध २११ रन बनाएको थियो ।

आजको जितसँगै लखनउ र कोलकताले सेमिफाइनल स्थान सुरक्षित गरेका छन् । जारी प्रतियोगितामा लखनउले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अङ्कका साथ शीर्ष स्थानमा कायमै रहँदै सेमिफाइनल यात्रा तय गरेको हो । लखनउलाई पछ्याउँदै कोलकताले पनि ३ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अङ्कका दुई खेल अगावै सेमिफाइनल यात्रा सुनिश्चित गरेको छ ।

प्रतियोगितामा लखनउ र कोलकताबीचको खेलको विजेता शीर्षस्थानमा रहने छ । प्रतियोगितामा शीर्ष चार भित्रमा रहने टोली सेमिफाइनल यात्रा तय गर्नेछन् । अब सेमिफाइनल दौडमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र घरेलु टोली भरतपुर मेयर्स ११ रहेका छन् । सुदूरपश्चिम ३ खेलमा २ जित र एक हारका साथ ४ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने मधेश प्रदेश ४ खेलमा १ जित र ३ हार ब्योहोर्दै २ अङ्कका साथ चौथो स्थानमा रहेको छ । घरेलु टोली भरतपुरको पनि समान अङ्क रहने पनि नेटरनरेटले पछि पर्दै पाचौं स्थानमा रहेको छ ।

बागमती प्रदेश भने चार खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रहेको छ । मङ्गलवारको हारसँगै बागमती सेमिफाइनल समीकरणबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button