तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीमा वार्षिक २ सय मेट्रिकटन मह उत्पादन हुँदै 

सर्लाही । दैनिक गरौँ मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन ” भन्ने नाराको साथ सर्लाहीमा १८औँ राष्ट्रिय मह दिवस मनाइएको छ। नेपाल मौरी पालक महासङ्घ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिका वडा न- ११ को सभा हलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगिता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।

आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैँ साथमा, खाऔँ आफ्नो बारीको, नखाऔँ सीमा पारीको भन्ने कार्यक्रमको मूल नारा रहेको थियो । सर्लाहीमा करिब ३ सय जना मौरी पालक किसान रहेका  भए पनि  १ सय जना सक्रिय रहेका नेपाल मौरी पालक महासङ्घ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेट्रिकटन मह उत्पादन हुने गरेको छ। उत्पादित मह सर्लाही सहित काठमाडौँ देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरी पालक महासङ्घका केन्द्रीय सदस्य  हेमराज देवकोटाले जानकारी दिए ।उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेट्रिकटन सम्म मह उत्पादन हुने गरेको र उत्पादित मह डाबर नेपाल र सालट्रेडिङलाई बिक्री वितरण गरिएको थियो ।

जलवायु परिवर्तन,वन विनाश (डढेलो) र किशन प्रति राज्यले गर्ने गरेको बेवास्ता प्रमुख कारण रहेको केन्द्रीय सदस्य देवकोटाले बताए ।पछिल्लो समय तेस्रो मुलुकबाट  निर्बाध रूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी किसानहरूले बताए ।

नेपालमा यस वर्ष  ३ हजार ३५ सय मेट्रिक टनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ  वार्षिक ८ हजार  मेट्रिकटन भन्दा बढी महको माग रहेको छ ।आफूहरूको उत्पादन विस्थापित गर्ने गरि भारतीय मह जुन तरिकाले नेपालमा भित्रिएको छ बन्द भएन भने कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो । राज्यले मह उत्पादनमा गर्न ठोस नीति ल्याएर नेपाली मह विदेशी बजारमा  निर्यात गर्नुपर्ने  मौरी पालक किसानहरूको माग रहेको छ । मह दिवस कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, उप प्रमुख हरिमाया घलान लगायत सर्लाही भरीका मौरी पालक किसानहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button