तपाईँ सुन्दै हुनुहुन्छः

आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरूका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले सेवा प्राप्त गरेका थिए ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिनुभयो ।

उहाँले सङ्घले आँखाको उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । सङ्घले विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति
सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निःशुल्क ज्योति प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ । सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो ।

सबै नागरिकलाई समतामूलक तथा बृहत् आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दुका अलावा दृष्टिदोष, बालदृष्टि विहीनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुर्नस्थापकिय सेवासम्बन्धी राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

सङ्घले हाल देशभरिमा २८ आँखा अस्पताल स्थापना गरिसकेको छ । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घद्वारा सञ्चालित २७ आँखा अस्पतालले अहिले दशैभरि जनताको घरदैलोमा सहज, सुलभ र सस्तो रुपमा गुणस्तरीय सेवा प्रदान गरिरहेको बताउनुभयो ।

उहाँका अनुसार सङ्घले आँखा अस्पतालको अलावा एक सय ५६ आँखा उपचार केन्द्रहरूको स्थापना गरेको छ । जहाँबाट प्राथमिक तहको आँखा उपचार सेवा प्रवाह हुन्छ । सङ्घमा आबद्ध करिब १० हजार स्वयं सेवकको अथक प्रयास र मेहनतबाट सङ्घले उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।

सन् १९८१ म गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशत रहेको देखाएको थियो । यसको ठिक ३० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले नेपालमा अन्धोपनको स्थिति घटेर ०.२८ प्रतिशतमा झरेको थियो । नेपालको अन्धोपन न्यूनीकरण कार्यमा प्राप्त यो सफलतामा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

आँखा उपचार र दृष्टिविहीनता न्यूनीकरणमा कोशेढुङ्गा बन्न सफल सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म नियमित आँखा उपचार सेवालाई विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो ।

नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलको सक्रियतामा विसं २०३५ चैत १३ गते सङ्घको स्थापना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button