तपाईँ सुन्दै हुनुहुन्छः

मेरो जीवन राष्ट्रका लागि समर्पित छ– मुख्यमन्त्री केजरीवाल

नयाँदिल्ली। दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेपछि जाँच एजेन्सीले पुर्पक्षका लागि १० दिन न्यायिक हिरासतमा राख्न माग गरेको हो । 

अदालतमा शुक्रबार पेश गरिएका मुख्यमन्त्री केजरीवालले आफ्नो अडान जारी राख्नुभएको छ । “म जेलभित्र वा बाहिर जहाँ भए पनि मेरो जीवन देशका लागि समर्पित छ”, पुर्पक्षका लागि हिरासतमा राख्ने म्यादको सुनिवाइका लागि अदालत परिसरमा प्रवेश गर्ने क्रममा उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

इडीले अदालतमा मुख्यमन्त्री केजरीवाल व्यापारीहरूबाट घुस माग्ने मुख्य षड्यन्त्रकारी भएको आरोप लगाउनुका साथै अन्तःशुल्क नीति निर्माणमा उहाँको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो ।

इडीका वकिलले आम आदमी पार्टी (आप) का मिडिया इन्चार्ज विजय नायरले मुख्यमन्त्री केजरीवालका लागि काम गरिरहेको दाबी गरेका थिए । एजेन्सीले केजरीवालको घर नजिकै बस्ने नायरले आप र दक्षिण समूहबीच बिचौलियाका रूपमा काम गरिरहेको बताएको छ ।

अपराधको कमाइ एक सय करोड (भारतीय रुपैयाँ) मात्र नभई घुस दिनेहरूले गरेको नाफा पनि अपराधको कमाइ भएको इडीका वकिलले थप दावी गरेका थिए । एजेन्सीले गोवा चुनावमा प्रयोग भएको ४५ करोडको हवाला ट्रेलहरु पत्ता लगाएको वकिलले बताएका छन् । 

केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता अभिषेक मनु सिङ्घवीले रिमाण्डको निवेदनको विरोध गर्दै एजेन्सीले पक्राउ गर्न आवश्यक कारणहरु देखाउनुपर्ने बताउनुभयो । उहाँले पक्राउको शक्ति र पक्राउको आवश्यकता दुई फरक कुरा भएको तर्क गर्दै स्वतन्त्रताको ७५ वर्षको इतिहासमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक भएको बताउनुभयो ।

अन्तःशुल्क नीति मामिला विषयको मुद्दामा दिल्ली उच्च अदालतले जबरजस्ती कारबाहीबाट आन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि बिहीबार इडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो ।  

यो मुद्दा दिल्ली अन्तःशुल्क नीति मुद्दा २०२२ को गठन र कार्यान्वयनमा भएको अनियमितताको र मनी लन्ड्रिङसँग (कालो धनलाई सेतो बनाउने) सम्बन्धित मुद्दा हो । यसलाई पछि खारेज गरिएको थियो । 

आपका दुई वरिष्ठ नेता मनिष सिसोदिया र सञ्जय सिंह अन्तःशुल्क नीति मुद्दामा न्यायिक हिरासतमा छन् । सिबिआईले फेब्रुअरी २६ मा कैयौँ चरणको सोधपुछपछि दिल्लीका तत्कालीन उपमुख्यमन्त्री सिसोदियालाई पक्राउ गरेको थियो । इडीले अक्टोबर ५ मा राज्यसभा सदस्य सञ्जय सिंहलाई पक्राउ गरेको हो । एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button