तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा चैत १६ र १७ साहित्य महोत्सव हुँदै

इलाम । आगामी चैत्र १६ र १७ गते इलाम साहित्य महोत्सव आयोजना गरिने भएको छ । इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा उक्त महोत्सव हुनलागेको हो ।  आयोजक का अनुसार महोत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्ने र पहिलो दिनको सम्भाषण पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको रहने छ ।  ‘सङ्घीयता यस्तै वा कस्तो’ विषयमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुबेदीबिच बहस हुनेछ । ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरूप र सुमिनाको बहस हुनेछ ।

  ‘मिथकदेखि मिथकसम्म’ विषयमा डा। अरुण गुप्ता र राजन मुकारुङ, ‘आख्यान :अन्तिम पात र नयाँ पालुवा’ विषयमा नारायण ढकाल र बसन्त बस्नेतबिच बहस हुनेछ भने ‘पोलट्री इन मुभमेन्ट’मा राजा पुनियानीको प्रस्तुति रहनेछ । ‘बदलिँदो विश्व : फेरिँदो स्थानीयता’ विषयमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङबीच बहस हुनेछ । ‘चारखोलका रंगमञ्च’मा सुरेश पोर्तेल र चेतन आङ्थुपोबीच बहस हुनेछ ।

चैत १७ मा ‘कविताका स्वर’शीर्षकमा गद्य कविता वाचन गरिनेछन् । यी कवितामा डा।तुलसी गौतमले टिप्पणी गर्नेछन् । ‘छन्द सुगन्ध’ शीर्षकमा कवितावाचन पनि यसै दिन राखिनेछ । ‘संरक्षण र पर्यापर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णबीच भलाकुसारी हुनेछ । ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुबिच बहस चल्नेछ । अभि सुवेदीसँग ‘उमेरको कथा’ विषयमा दीपक सापकोटाले कुराकानी गर्दा ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाम र रामबाबु गुरुङबिच बहस चल्नेछ ।

  ‘अक्षर मोह : अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयबिच कुराकानी हुनेछ । ‘सीमा साहित्य र संस्कृति’ शीर्षकमा डा।कविता लामा, गणेश खनियाँ र दीपक लुंगेलीले कुराकानी गर्नेछन् । ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता बिस्टबिच बहस हुनेछ ।  ‘कस्तो राजनीति’ शीर्षकमा डा।सिके राउत, प्रदीप ज्ञवाली, विश्वप्रकाश शर्माबिच बहस हुनेछ । गजल साँझसँगै महोत्सव समापन हुने प्रतिष्ठान का संयोजक प्रकाश थाम्सुहाङ जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button