तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताउनुभएको छ । 

वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै उहाँले पूर्वीय दर्शनको ज्ञान प्रवर्द्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । 

पूर्वीय दर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास भन्दै सञ्चार मन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो ।  

प्रा.डा.कृष्ण गौतमले पूर्वीय दर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताउनुभयो ।

पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीय दर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिनुभयो ।

नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहनुभएका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button