तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधारको विकास बिना देशको समृद्धिको यात्रा कठिन हुने भन्नुहुँदै भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । 

उपप्रधानमन्त्री महासेठ गृह जिल्ला धनुषा आउनेक्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै यसभन्दा अगाडि मन्त्रालयको नेतृत्व गर्दा पनि आफूले पूर्वाधारको विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो । 

उहाँले एमाले सरकारमा भएको बेलामा मध्य पहाडी, मदन आश्रित, हुलाकी र उत्तर दक्षिण राजमार्गको निर्माणमा गति लिएको र यस पटक फेरि आफू भौतिक मन्त्रालयको नेतृत्वमा आएकाले हुलाकीसहितको अन्य राजमार्गको निर्माणमा गति दिने बताउनुभयो । 

नेकपा एमालेका सचिव समेत रहनुभएका उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन बाँकी अवधिसम्म चल्ने दाबी गर्नुभयो । 

उहाँले मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको र मन्त्रालयहरुको विषयमा चाँडै टुङ्गो लाग्ने बताउनुभयो । 

उहाँले गलत गर्ने जस्तोसुकै ओहदाका व्यक्ति किन नहोस् कारबाही हुने बताउनुभयो ।

आजै नेकपा एमालेको पार्टी कार्यालयमा उपप्रधानमन्त्री रघुवीर महासेठ तथा एमाले पोलिटब्युरो सदस्य जुलीकुमारी महतोलाई स्वागतसहित सम्मान गरिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button