तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित कारोबार (पहिलो संशोधन) २०८०, दफावार छलफलका लागि समितिमा 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) २०८० लाई सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

सभामा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको सुरक्षित कारोबार (पहिलो संशोधन)  २०८० लाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रस्तुत गर्नुभएको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन २०८० माथि छलफल भएको छ ।

बैठकमा राष्ट्रियसभाको अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्नुभएको छ ।

अध्यक्ष दाहालले कार्यव्यवस्था परामर्श समितिमा आनन्दप्रसाद ढुङ्गाना, गोपी बहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदन कुमारी शाह (गरिमा), मोहम्मद खालिद र शेखर कुमार सिंहलाई मनोनयन गर्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरेको छ ।

राष्ट्रियसभाको अर्को बैठक चैत्र १५ गते बिहीबार दिउसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button