तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एसइईको तयारी अन्तिम चरणमा, १५ हजार ८ सय विद्यार्थी सहभागी हुने

भद्रपुर, झापा । झापामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अन्तिम चरणमा पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाई झापाले चैत १५ गतेबाट हुने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो वर्ष झापाबाट १५ हजार ८ सय २२ जनाले विद्यार्थीले एसइई परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । सोही अनुसार जिल्लाभरका विद्यार्थीहरूलाई प्रवेशपत्र वितरण गरिसकिएको छ ।

परीक्षा बोर्डले जिल्ला प्रहरी कार्यालयमा पठाएको प्रश्नपत्रहरु दुई दिनभित्र जिल्लाका इलाका प्रहरी र प्रहरी चौकीमा पठाइने छ । यसअघि उत्तरपुस्तिका केन्द्रहरूमा पठाइसकेको बताइएको छ । समन्वय इकाईका कर्मचारी ओम राईले जिल्लामा ५७ वटा परीक्षा केन्द्रहरू रहेको जानकारी दिनु भयो । चैत्र १०–१२ भित्र केन्द्राध्यक्ष नियुक्ति गरेपछि तयारी पूरा हुने उहाँले बताउनु भयो ।

यसवर्ष जिल्लामा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ८ वटा र सबैभन्दा कम बाह्रदशी र गौरीगञ्जमा १/१ वटा परीक्षा केन्द्र तोकिएको छ ।

केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button