तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना छ : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालमा नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना भएको र चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सक्ने बताउनुभएको छ । 

काठमाडौँ जारी सातौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) समापन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेलेको बताउनु भयो । निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको बताउनुभयो । 

मन्त्री तामाङले  भन्नुभयो “४० देशका चलचित्रकर्मीहरू सहभागी भएको महोत्सवमा यति धेरै विदेशी पर्यटकहरू नेपालमा आउनुले नेपालको चलचित्र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खोलेको छ भन्ने मलाई लाग्छ” मन्त्रालय मातहतबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति आफू सकारात्मक रहेको बताउँदै तामाङले ठोस् योजना सहित सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भयो । तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ । 

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमती अवार्ड जितेको छ ।

“द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग”ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो । ९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागी बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् । 

नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।

राजेश श्रेष्ठ र सङ्कल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।

विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button