तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा बहुधार्मिक महोत्सव

इलाम । धार्मिक सद्भावको वृद्धि र बहुधार्मिक सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले इलाममा बहुधार्मिक उत्सवको आयोजना गरिएको छ ।

इलाम नगरपालिका ६ सिङफ्रिङ स्थित सिंहसिद्धदेवी तथा देवी पञ्चायन मन्दिर परिसरमा अठार पुराण समापन एवं इलाम धार्मिक महोत्सवको आयोजना गरिएको हो । चैत १ गते सुरु भएको महोत्सवमा दिनहुँ श्रद्धालु भक्तजनहरूको बाक्लो भिड लाग्ने गरेको छ । एकै स्थानमा अठार पुराणसहित बौद्धको दोमाङ र किराँत धर्मको मुन्धुम पाठ भइरहेको छ ।

महोत्सवले इलाम जिल्लामा रहेका शक्तिपीठ तथा धार्मिकस्थलको प्रचारप्रसार र विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । चैत ९ गतेसम्म चल्ने महोत्सवमा हिन्दु धर्मका ४५ जना पण्डित, ११ जना बौद्ध लामा गुरु र १९ जना किरात धर्मका गुरुहरूले पाठ गरिरहेका छन् ।

महोत्सवबाट सङ्कलित रकमबाट हिन्दु, बौद्ध र किराँत धर्म संस्कृतिका अनेकन पक्ष झल्कने गरि संग्राहलय निर्माण गरिने आयोजक समितिका अध्यक्ष सन्दिप कुमार बुढाथोकीले बताउनु भयो। महोत्सवका मुख्य वक्ताकोरुपमा भागवत मञ्जरी राधिका दासी हुनुहुन्छ । आयोजक समितिका सचिव रविन रायमाझीका अनुसार महोत्सवमा दैनिक तीन हजार भन्दा धेरै भक्तजनको उपस्थिति रहने गरेको छ । इलाम जिल्लासहित पूर्वका विभिन्न जिल्ला र सीमा पारी भारतीय क्षेत्रबाट पनि श्रद्धालु तथा भक्तजनहरू आउने गरेका छन् । महोत्सवमा करिब ६५ लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष गणेश सुवेदीले जानकारी दिनुभयो । महोत्सवस्थल इलाम सदरमुकामबाट ३ किलोमिटर उत्तर पूर्वमा रहेको छ ।

२०५९ सालमा इलाम नगरपालिका ६ स्थित श्री जनकल्याण प्राथमिक विद्यालय प्राङ्गणमा पुराण सुरु गरी अठार पुराणको लक्ष्य लिएको आयोजकको भनाई छ । सो समयमा विश्व शान्तिको कामना गर्दै हिन्दु धार्मिक परम्परा र बौद्ध धर्म अनुसार दोमाङ पाठ गरि सुरुवात गरिको हो । विगत वर्षहरूमा इलाम जिल्लाका विभिन्न स्थान, माइखोला, गजुर्मुखीधाम लगायत शक्ति पीठहरूमा १८ पुराण सफलतापूर्वक पाठ एवं वाचन सम्पन्न गरिएको समितिका पङ्कज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button