तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ ।

प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा औद्योगिक वातावरण बनेको सन्देश दिन प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको हो । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो ।

नीजि क्षेत्रको सहकार्य र समन्वयमा यो सम्मेलन गर्ने तयारी सरकारको छ । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियो । सोही अनुसार यो कार्यक्रमलाई अगाडि बढाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश लगानी प्राधिकरणले यसको आवश्यक समन्वय, सहजीकरण र लगानीको क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गर्न करिब ३ करोड बजेट छुट्टाएको छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्रो मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयोजनाको क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहको नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशोधन तत्कालै गर्ने तयारी सरकारको छ ।

पिपिपी मोडेलको लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button