तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा ७ जनाको मृत्यु भएको छ ।

शनिवार बिहान २ बजे लिसंखुपाखर गाउँपालिकामा पहिरोले एक घर बगाउँदा ७२ वर्षीय काजीबहादुर लामा र उहाँकी धर्मपत्नी सुन्तली तामाङको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । त्यस्तै आज दिउँसो सोही वडाकी तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उहाँको एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको छ ।

सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि एक कोरियन नागरिकसहित दुई जनाको मृत्यु भएको छ ।

उता, जुगल गाउँपालिका–१ मा पहिरोले ३ घर बगाउँदा ४ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । भोटेकोसी गाउँपालिका, लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीको बाढीले बगाउँदा तातोपानी नाकासँगको सम्पर्क बिच्छेद भएको छ ।

बन्देउदेखि सदरमुकाम चौतारा जाने २६ किलोमिटर सडकमा झण्डै २६ ठाउँमा पहिरो गएको छ । जसका कारण सडक पूर्णतः अवरुद्ध भएको प्रहरीले जनाएको छ । बलेफी–जलबीरे, मेलम्ची–हेलम्बु र पाँचपोखरी जाने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button