तपाईँ सुन्दै हुनुहुन्छः

‘राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकिकृत मापदण्ड लागु गरिनुपर्छ’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनुभएको छ ।

राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविष्यलाई आधार मानेर नमुना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताउनुभयो । उहाँले अब बन्ने सहरहरू भूकम्प, बाढि, पहिरो लगायतका विपदबाट सुरक्षित हुने गरी मापदण्ड निर्माण गरिने स्पष्ट पार्नुभयो ।

शहर निर्माणसँग जोडिएका मापदण्डको पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनुभयो ।

शहर भित्रको सडक, खुला क्षेत्र, हरियाली प्रवर्द्धन लगायत अन्य हिसाबले स्मार्ट बनाउने गरि मापदण्डलाई एकीकृत बनाउन थालिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनुभयो ।

मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरूको क्षमता अभिवृद्धि गर्ने गरि कार्यक्रम अघि बढाउन थालिएको छ । हाल प्रदेश प्रशासनिक परिसर क्षेत्र भित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै वर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ । प्रदेश सरकारले पाँच वर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतको खोजी गर्न विभिन्न दातृ निकायहरूसँग छलफल गरिरहेको छ । २० वर्षभित्र एक खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button