तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा ३९ वर्षमा पहिलो पटक मुद्रास्फीतिमा गिरावट

कोलम्बो । आर्थिक सङ्कटमा परेको श्रीलङ्काको अर्थतन्त्रमा ३९ वर्षमा पहिलो पटक उपभोक्ता मूल्यमा गिरावट आएको सरकारी आँकडाले सोमबार देखाएको छ । आँकडाअनुसार सेप्टेम्बरको मुद्रास्फीति ऋणात्मक शून्य दशमलव पाँच प्रतिशतमा झरेको छ । 

जनगणना तथा तथ्याङ्क विभागको आँकडाले अगस्टमा शून्य दशमलव पाँच प्रतिशत मुद्रास्फीति रहेकामा सेप्टेम्बरमा खाद्य र गैर–खाद्य वस्तु दुवै वस्तुको मूल्यमा गिरावट आएर अपस्फीति भएको देखाएको छ । यसअघि सन् १९८५ अक्टोबरमा ऋणात्मक दुई दशमलव एक प्रतिशतको अपस्फीति दर्ता गरिएको थियो । 

दुई वर्षअघि श्रीलङ्कामा अभूतपूर्व आर्थिक सङ्कटको चरम अवस्थामा मुद्रास्फीति ६९ दशमलव आठ प्रतिशत पुगेको थियो । खाद्यान्न, इन्धन र औषधिको चरम अभावले महिनौँसम्म विरोध प्रदर्शन हुँदा अन्ततः तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षले अस्थायी रूपमा मुलुक छाड्न र सन् २०२२ जुलाईमा पदबाट राजीनामा दिन बाध्य हुनुपरेको थियो । 

उहाँका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले दुई अर्ब ९० करोड डलरको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को राहत प्याकेज प्राप्त गर्नुभयो र अर्थतन्त्रलाई स्थिर बनाउन कर र मूल्य वृद्धि गर्नुभयो ।

यसै महिनाको प्रारम्भमा राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे पराजित हुनुभयो । निर्वाचनमा विजयी अनुरा कुमारा दिसानायकेले आइएमएफ कार्यक्रमलाई जारी राख्ने तर यसले लागु गरेका केही कठोर मितव्ययी उपायलाई खुकुलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button