तपाईँ सुन्दै हुनुहुन्छः

दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले

चितवन । तीन दिनको अविरल वर्षाले देशका धेरै ठाउँका सडक क्षतविक्षत भए, तर सधैँ चर्चामा रहने नारायणगढ–मुग्लिन सडकले भने यसपटक ठूलो विपत्ति झेल्नु परेन । वर्षाको पूर्व चेतावनी सँगै गत शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले यो सडकखण्डमा आवतजावत बन्द ग¥यो । विगतमा एकै पटक पहिराले दुई वटा बस त्रिशूलीमा खसालेको घटनाबाट पाठ सिकेर प्रशासनले समयमै सावधानी अपनायो ।

तीन दिनसम्मको वर्षाले नौ किलोमा सडक भासिएको थियो भने केराबारी, टोपीखोला, घुमाउने र सिमलतालमा माथिबाट खसेको पहिरो समयमै पन्छाएर आइतबारदेखि सडक नियमित सञ्चालनमा आयो । सडक बन्द गरिएको समयमा अत्यावश्यक सवारीसाधन आधा घण्टाभन्दा बढी रोकिनु परेको थिएन ।

राजधानी काठमाडौँ आवतजावत बन्द भए पनि यो सडकखण्ड आइतबार बिहानबाटै नियमित सञ्चालनमा छ । सोमबार यो सडकखण्ड यात्रा गर्दा सवारीसाधनहरू बिना अवरोध सरर हुइँकिरहेका देखिन्थे ।

दिउँसो ३ बजेर ५ मिनेट जाँदा नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा भेटिनु भएका बा प्र।०३–००१च ०३४२ नम्बरका बोलेरो चालक नवीन गुरुङ मुग्लिन कटेपछि आनन्दको श्वास फेरेको बताउँदै हुनुहुन्थ्यो । काठमाडौँबाट आज बिहान सबेरै हिँड्नुभएका गुरुङले काठमाडौँको सितापाइलाबाट रामकोट हुँदै धार्के निस्केर आएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो सडक छिरेपछि खासै दुःख छैन ।”

सोही सडक हुँदै नारायणगढतर्फ आउँदै गर्नुभएका बा।प्र।०३–२६ च ४१६१ नम्बरको बोलेरो चालक आशिष गुरुङ काठमाडौँबाट आउँदा पृथ्वी राजमार्गले निकै दुःख दिएको गुनासो गर्नुभयो । बिगत समयमा नारायणगढ–मुग्लिन सडकखण्डले दुःख दिने गरेको भन्दै अहिले भने निकै सहज भएको बताउनुभयो ।

गोरखाबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ७५७ नम्बरको बसका चालक श्यामबहादुर हुमागाईं नारायणगढ–मुग्लिन सडकखण्ड सहज भएको बताउँदै आजै गोरखा फर्किने बताउनुभयो । दासढुङ्गामा भेटिनुभएका उहाँले अन्यत्र ठूलो क्षति भए पनि यो सडकखण्डमा पहिरोले धेरै समस्या नदिएको बताउनुभयो ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा ०१०२९ च ४५९४ नम्बरको विद्युतीय (इभी) माइक्रो गाडीका चालक नकुल पराजुली मुग्लिन कट्दासम्म कुनै समस्या नभएको बताउनुहुन्छ । लेवाटारमा गाडी चार्ज गरिरहनुभएका पराजुलीले ठूलो वर्षा भएपनि सडकमा दुःख नपाएको बताउनुभयो ।

यो सडक पूर्ण रुपमा सञ्चालनमा आएपनि काठमाडौँ प्रवेश गर्ने सडकमा अझै समस्या हुँदा यहाँ सवारीको चाप निकै कम देखिन्छ । पोखरा, बेसीशहर, गोरखा, बागलुङ लगायतका ठाउँबाट आएका सवारीसाधन धेरै भए पनि काठमाडौँबाट आएका सवारीसाधन निकै कम छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मा यो वर्षातमा नारायणगढ–मुग्लिन सडकले दुःख नदिएको बताउनुहुन्छ । उहाँको भनाइमा एक ठाउँमा सडक धसिएको र केही ठाउँमा साना पहिरा खसेको बताउनुहुन्छ । नौ किलोमा दुई फिट सडक भासिएको थियो । झण्डै १० मिटर लामो भागको आधा सडक भासिएपछि एकतर्फी सडक सञ्चालनमा आएको थियो । त्यसलाई ग्राभेल हालेर मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।

सडक खण्डको केराबारी, टोपेखोला, घुमाउने र सिमलतालमा साना पहिरा खसेको भए पनि धेरै दुःख नदिएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढ–मुग्लिन सडक बढीमा आधा घण्टाभन्दा धेरै रोकिनु परेन ।” अहिले पनि उच्च सावधानीका साथ काम गरिरहेको शर्माको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समयमै आवागमन बन्द गराएर हुन सक्ने जोखिमबाट बच्न सकिएको बताउनुहुन्छ ।  नारायणगढ–मुग्लिन सडकमा यो वर्षामा खासै पहिरो खसेको छैन । रातको समयमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि समयमै सावधानी अपनाइएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चालक र यात्रुको उच्च दबाबका बाबजुद हामीले सवारी रोकेर सावधानी अपनायौँ ।”

सो सडकमा द्रुत उद्धार टोली तयारी अवस्थामा राखेर काम भइरहेको उहाँ बताउनुहुन्छ । डिभिजन सडक कार्यालय, जिल्ला प्रहरी, जिल्ला ट्राफिक, सशस्त्र प्रहरी लगायत सबै तम्तयार अवस्थामा रहेर सडक सहज सञ्चालनमा जुटेको उहाँको भनाइ छ ।

सवारीसाधनलाई नियमन कडाइका साथ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०० र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५१ मा उल्लेख भएअनुसार यात्रुवाहक सवारी चालकले चलानीमा यात्रुको पूरा विवरण भरेर प्रहरी पोष्टमा बुझाउनुपर्ने हुन्छ । यो व्यवस्था भए पूर्ण रुपमा लागू नभएकोमा मङ्गलवारबाट कडाइका साथ लागू गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार चालकलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएर ट्राफिक नियम पालना गर्न लगाइँदै छ ।

चाडपर्वको क्रममा सवारी चाप निकै बढ्ने भएकाले खाद्यान्न बाहेकका सामग्री बोकेका १४ चक्काभन्दा बढीका सवारीलाई प्रस्थान बिन्दुमै रोक्न पत्राचार गरिएको छ । यो सडक हुँदै यसरी सामग्री बोकेर आउने सवारीसाधन भैरहवा र वीरगञ्जबाट आउने गर्दछन् ।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्दछन् । राजधानीको लाइफलाइनका रुपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिने गरिन्छ । गएको असार २८ गते यसै खण्डको सिमलतालमा दुई वटा बस पहिराले बगाउँदा धेरैले ज्यान गुमाउनुपरेको थियो । कतिपय अझै बेपत्ता छन् । बस अझै फेला परेको छैन । त्यतिबेला पनि पहिले पहिरो नखसेको ठाउँमा अकस्मात् लेदो बगेर दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button