तपाईँ सुन्दै हुनुहुन्छः

लेखनाथमा सूर्य तारा (नेकोस) खेल महोत्सव शुरु

पोखरा । सूर्य तारा (नेकोस) खेल महोत्सव शनिवारबाट लेखनाथमा शुरु भएको छ ।

सूर्य तारा क्लब, (पोखरा) र नेपाल खेलकुद महासङ्घ गण्डकीको संयुक्त आयोजनामा पोखरा–२९ स्थित प्रस्तावित भण्डारढिक रङ्गशालामा शुरु भएको महोत्सवको उद्घाटन गर्दै नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको बताउनुभयो ।

महासचिव पोखरेलले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धन गर्नुका साथै खेलकुदको पूर्वाधार विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले खेल क्षेत्रको विकासको माध्यमबाट समृद्धि हासिल गर्न सकिने बताउँदै यसमा राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले खेल क्षेत्रको समुचित विकास हुन नसकेको र खेलाडीहरूले खेलेर बाँच्न सक्ने अवस्था नभएको बताउँदै राज्यले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र राजनीतिक दलहरूले खेलकुदको मुद्दालाई राजनीतिक मुद्दा बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्य तारा युवा क्लबका अध्यक्ष एवं महोत्सवका संयोजक विष्णु पुनले खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै खेलकुद क्षेत्रको संस्थागत विकास गर्न महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमअघि विभिन्न ८१ संघ संस्था एवम् महिला र आमा समूहहरूले आफ्नो कला संस्कृति, परम्परा सहितको पहिचान झल्किने झाँकी प्रस्तुत गरेका थिए ।

शनिबार आयोजक सूर्य तारा युवा क्लब र त्रिशक्ति युवा क्लब, माछापुच्छ्रे गाउँपालिकाबिच भएको उद्घाटन खेलमा सूर्य तारा युवा क्लबले ०–२ गोल गरेको थियो ।

महोत्सवमा फुटबल, ब्याडमिन्टन, एथलेटिक्स, तेक्वान्दो, खुल्ला महिला स्लो स्कुटर रेस, गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता, कास्की जिल्ला स्तरीय, विद्यालय स्तरीय नृत्य प्रतियोगिता र सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता हुनेछन् ।

खेल महोत्सवमा फुटबल प्रतियोगिता तर्फ विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई जनही ७ हजार ७ सय ७७ नगद पुरस्कार प्रदान गरिनेछ ।

यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय पुरस्कार नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ भने गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीयलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीयलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ ।

कास्की जिल्ला विद्यालय स्तरीय नृत्य प्रतियोगिता प्रथम हुनेलाई नगद रु. ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई नगद रु. ३३ हजार ३ सय ३३ र तृतीय हुनेलाई नगद रु. २२ हजार २ सय २२ प्रदान गरिनेछ । खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. ३३ हजार ३ सय ३३, द्वितीय पुरस्कार नगद रु.२२ हजार २ सय २२ र तृतीय पुरस्कार नगद रु. ११ हजार १ सय ११ को व्यवस्था गरिएको छ ।

एथलेटिक्स प्रतियोगिता अन्तरगत सम्पन्न विद्यालय स्तरीय छात्रछात्रा, खुल्ला महिला र ४५ वर्ष माथिको भेट्रान्स ७ किमी दौडतर्फ प्रथम हुने खेलाडीहरूलाई सात हजार, द्वितीय हुनेलाई पाँच हजार र तृतीय हुनेलाई तिन हजार साथमा मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button