तपाईँ सुन्दै हुनुहुन्छः

अशक्त र ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता प्रदान

सुनसरी । सुनसरीको गढी गाउँपालिकाले अशक्त र ज्येष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

वडा कार्यालयसम्म जान नसक्ने लाभग्राहीहरूको घरैमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको गढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी साहले जानकारी दिनुभयो ।

घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि गढी गाउँपालिका सत्तेरझोडाकी सहिदाँ खातुनले घरमै सिंहदरबारको अधिकार पाएको महसुस भएको बताउनुभयो ।

गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेपछि लाभग्राहीलाई राहत भएको ज्येष्ठ नागरिक खातुनले बताउनुभयो ।

गाउँपालिकाले अशक्तलाई सजिलो होस् भन्ने उद्देश्यसहित चालु आर्थिक वर्षको दोस्रो चौमासिक अन्तर्गतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, असहाय तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरू लगायतका लाभग्राहीलाई वडा तथा घरमा पुगेर भत्ता वितरण गर्न सुरु गरेको गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर खड्काले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ताका लागि असहाय तथा ज्येष्ठ नागरिकहरू बैङ्कसम्म पुग्न हैरानी खेप्नुपरेको भन्दै गाउँपालिकाले बैङ्कसँग समन्वय गरी वडा, गाउँ र टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button