तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामका प्रसिद्ध शिवमन्दिरहरुमा भक्तजनको घुइँचो

जनकपुरधाम । श्री पञ्चमीको अवसरमा अराध्यदेव भगवान् शिवको पूजा अर्चनाका लागि जनकपुरधामका शिवमन्दिरहरुमा भक्तजनहरूको भीड लागेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी घर नजिकको शिवालयमा गई श्रद्धाभक्तिपूर्वक भगवान् शिवको पूजा आराधना गरिरहेका छन् ।

फाल्गुण कृष्ण पक्ष चतुर्दशी मध्यरातमा भगवान् शिवको उत्पत्ति भएको रातको रुपमा मानी यसलाई शिवरात्रि पर्वको रुपमा मनाइने चलन रहेको छ । यस दिनलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामले चिनिने गरेको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिने गरिन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्वले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि रहेको छ ।

जनकपुरधामको शिवचौक स्थित शिव मन्दिर, स्वर्गद्वारको भूतनाथ मन्दिर, कपिलेश्वरनाथ, कसपेश्वरनाथ, क्षिरेश्वरनाथ, महोत्तरीको जलेश्वरनाथमा ठूलो धार्मिक मेला लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button