तपाईँ सुन्दै हुनुहुन्छः

झापा गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

भद्रपुर, झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

यस सिजनको सर्वाधिक सफल क्लब मच्छिन्द्र फुटबल क्लबमाथि २–१ गोल अन्तरको जीत निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । 

विर्तामोडको डोमालाल रङ्गशालामा खेलको ११औँ मिनेटमै मच्छिन्द्रले अग्रता लिएको थियो । मच्छिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।

खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनले ११ हजार र ट्रफी हात पारे ।

बिहीबार झापा ११ एफसीले एन्फा मकवानपुरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्ने आयोजक झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button