तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा सुरु

सुर्खेत । लोकसेवा आयोगहरूको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । 

लोकसेवा आयोग केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा आजदेखि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा उहाँले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गर्नुभयो । 

अध्यक्ष रेग्मीले विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रममा आयोगका सदस्य वीरबहादुर राईले सुदूरपश्चिम प्रदेशको कैलालीमा वि.स.२०७९ मा फागुन १९ र २० गते सम्पन्न तेस्रो सम्मेलनबाट ५ बुँदे घोषणापत्र र १० बुँदे निर्णय जारी गरिएकोमा अधिकांश कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । 

उहाँले आयोगको कार्य सम्पादनमा निष्पक्षता र स्वच्छता कायम गर्न यसको विश्वसनीयता बढाउँदै सात दशक लामो इतिहास बोकेको आफ्नो साख बचाउन निर्बाध अघि बढिरहेको बताउनुभयो । 

उद्घाटन सत्रमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडेल, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शुभकामना मन्तव्य दिनुभयो । 

यसैगरी, लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष सजना दाहाल र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा.सुजाता देवले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोकसेवा आयोगका पदाधिकारी र कर्मचारीहरू सहभागी हुनुहुन्छ । 

सम्मेलनमा केन्द्र र प्रदेश लोकसेवा आयोगहरूबाट विभिन्न कार्यपत्रहरू प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निष्कर्ष निकालिने लोकसेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उहाँले बताउनुभयो । 

यसअघि, लोकसेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा, दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवा तथा तेस्रो राष्ट्रिय सम्मेलन २०७९ फागुन १९ र २० कैलालीको धनगढीमा आयोजना गरिएको थियो । 

सम्मेलनमा सात वटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता थियो । 

आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेत घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button